नेपालगञ्ज : भोटेकोशी नदीमा आएको हिमबाढीमा परेर बेपत्ता भएका राप्ती सोनारी १ कुुसुमस्थित खोकरीका श्यामबहादुर चौधरीको परिवारलाई चाडपर्व मनाउन ५१ हजार रुपैयाँ सहयोग गरिएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ घर भई हाल जर्मनीमा बस्दै आएका तिर्थराज ओलीले रसुवाको हिमबाढीमा बेपत्ता भएका चौधरीकी श्रीमती कमला चौधरीलाई चाडपर्व मनाउन ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
गत भदौं १० गते आएको हिमबाढीमा परेर राप्ती सोनारी १ कुुसुमस्थित खोकरीका स्थानीय चौधरी बेपत्ता भएका थिए । हालसम्म उनको अवस्था अज्ञात छ । चौधरीको खोजी गर्न परिवार तथा आफन्तहरु रसुवा, नुवाकोट र चितवन लगायतका जिल्लामा पुगेपनि कतै पत्ता नलागेको बेपत्ता चौधरीकी श्रीमती कमलाले बताइन् ।
समाजसेवी समेत रहेका ओलीले चौधरीको घरमै पुगेर उनकी श्रीमतीलाई नगद ५१ हजार हस्तान्तरण गरेको राप्ती सोनारी १ का वडाअध्यक्ष यमबहादुर खड्काले बताए । सो सहयोगले चौधरी परिवारलाई चाडपर्व मनाउन सहयोग गरेको वडा अध्यक्ष खड्काले बताए ।
सहयोग हस्तान्तरणको अवसरमा राप्ती सोनारी १ का वडाअध्यक्ष खड्का, वडा नम्बर २ का वडाअध्यक्ष ज्ञानेन्द्रराज ओली, राप्ती सोनारी गाउँपालिकाका कार्यपालिका सदस्य यमकुमारी ओली लगायतको उपस्थिती रहेको थियो ।
राप्ती सोनारी २ का वडाअध्यक्ष ज्ञानेन्द्रराज ओलीको पहलमा उनका दाई समेत रहेका जर्मनीमा बस्दै आएका समाजसेवी तिर्थराज ओलीले पीडित परिवारलाई उक्त रकम सहयोग गरेको वडा नम्बर १ का वडा अध्यक्ष खड्काले बताए ।
सहयोग प्राप्त गरेपछि चाडपर्व तथा घर खर्च चलाउन सहज भएको जनाउँदै बेपत्ता चौधरीकी श्रीमती कमला चौधरीले आफ्नो श्रीमानको खोजी गरिदिन सरकारसँग पुनः अनुरोध गरिन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार