बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा एक वर्षमा २७ हजार २५ जना पर्यटक प्रवेश गरेका छन् । आर्थिक वर्ष २०८२/०८३ मा ति पर्यटकहरू निकुञ्ज भित्र प्रवेश गरेका हुन् ।
सहजै बाघ देख्न सकिने निकुञ्जको रुपमा चिनिएको बर्दिया राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आउने गरेका छन् ।
यस आर्थिक वर्षमा नेपाली १८ हजार नौ सय सात, सार्क देशका एक हजार दुई सय १७ र बाह्य पर्यटक छ हजार नौ सय एक जनाले निकुञ्ज प्रवेश गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा नेपाली १९ हजार १०, सार्क मुलकका एक हजार पाँच सय ४० र विदेशी सात हजार पाँच सय १७ जना गरी जम्मा २८ हजार ६७ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए भने आर्थिक वर्ष २०८०/८१ मा नेपाली १८ हजार १०, सार्क मुलुक एक हजार चार सय ३७ र विदेशी ६ हजार ६ सय ४८ जना गरी जम्मा २६ हजार एक सय ३१ जना निकुञ्ज प्रवेश गरेका थिए ।
अघिल्लो आर्थिक वर्षमा पर्यटकको संख्या वृद्धि भएपनि गत आर्थिक वर्षमा जेन जेड आन्दोलन र चुनावका कारण निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा कमि भएको छ । अघिल्लो वर्षको तुलनामा आन्तरिक, सार्क मुलुक र बाह्य पर्यटकहरूको संख्या केही मात्रामा घटेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जमा नेपाली पर्यटकको प्रवेश शुल्क एक सय रुपैयाँ, सार्क मुलुकका पर्यटकलाई सात सय ५० रुपैयाँ र अन्य मुलुकका पर्यटकका लागि एक हजार ५ सय रुपैयाँ लाग्ने गरेको छ ।
पर्यटक प्रवेश गरेबापत निकुञ्जमा एक करोड ३१ लाख ५४ हजार नौ सय ५० रुपैयाँ र पर्यटकले थप सुविधा (जंगल ड्राइभ, र्याफ्टिङ्ग, फिसिङ्ग लगायत) प्रयोग गरेबापत एक करोड ३६ लाख ५२ हजार नौ सय ७५ गरी पर्यटनबाट मात्र दुई करोड ६८ लाख सात हजार नौ सय २५ रुपैयाँ राजश्व संकलन भएको सुचना अधिकारी एवं संरक्षण अधिकृत महेश न्यौपानेले बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा चार करोड ३२ लाख ५१ हजार चार सय ५४ रुपैयाँ राजश्व संकलन भएको छ ।
निकुञ्जको करिब ६२ प्रतिशत राजश्व पर्यटकबाट संकलन भएको सूचना अधिकारी न्यौपानेले बताए ।
निकुञ्जमा भ्रमण गर्न आउने नेपाली पर्यटकको संख्यामा चालु आर्थिक वर्षमा केही मात्रामा घटेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अशोक कुमार रामले बताए । उनले भने, 'तुलनात्मक रुपमा केही पर्यटक घटेपनि नेपालीमा घुम्नु पर्छ मनोरञ्जन गर्नुपर्छ भन्ने धारणाको विकास भएको छ । अर्को वर्ष पर्यटकको संख्या बढ्ने छ ।'
पर्यटनका लागि अप सिजन शुरु भएपनि अझै पनि फाटफुट पर्यटकहरू निकुञ्ज प्रवेश गरिरहेको निकुञ्जले जनाएको छ । विशेषगरी विदाको दिनमा निकुञ्जमा नेपाली पर्यटकको बाक्लो उपस्थीती हुन्छ ।
हात्तीसार, गोही प्रजनन् केन्द्र अवलोकन, जंगल सफारी, जंगल वाल्कको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको रोजाईमा पर्ने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार