Listen LIVE

अर्गानिक उत्पादनमा जोड दिन मुख्यमन्त्रीको आग्रह

दाङ : लुम्बिनी प्रदेशमा अर्गानिक खाद्यान्न, तरकारी तथा फलफूल उत्पादनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम बनाएर सम्बोधन गर्ने मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् । 

अम्बिकेश्वरी व्यावसायिक तरकारी खेती कृषक समूहसँग देउखुरीमा छलफल गर्दै मुख्यमन्त्री आचार्यले खाद्यान्न तथा तरकारी उत्पादनमा रासायनिक मल र बिषादीको प्रयोगलाई घटाउँदै जैविक मल र जैविक बिषादीको प्रयोग बढाएर अर्गानिक उत्पादन बढाउनेगरी प्रदेश सरकारले सम्बोधन गर्ने बताएका हुन् । 

किसानले भारतबाट आउने तरकारीमा अत्याधिक बिषादी हुने गरेको गुनासो गर्ने गरेका छन् । सीमा नाकामा सङ्घीय सरकारले बिषादी परीक्षण गर्दै आएको र त्यो कामलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समेत पहल गर्ने मुख्यमन्त्री आचार्यले बताए ।

‘बिषादी परीक्षणका लागि सिमानामा व्यवस्था छ । त्यसलाई प्रभावकारी बनाउन प्रदेश सरकारले विगतमा पनि पहल लिएको थियो । अहिले पनि हामीले यसमा ध्यान दिन्छौं’ उनले भने, ‘सिमानाबाट हुने तरकारी, दूध, खसीबोका, कुखुराको तस्करी रोक्नका लागि विशेष पहल भएको छ । अहिले यसमा कमी आएको छ ।’ 

भैरहवा, कृष्णनगर, नेपालगञ्जको नाकामा बिषादी परीक्षणको कामलाई प्रभावकारी बनाउन समेत किसानले माग राखेका थिए । 

घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिना अम्बापुरका किसानले व्यावसायिकरूपमा अर्गानिक तरकारी उत्पादन गर्दै आएका छन् । 

प्रदेश सरकारले जैविक मल, जैविक बिषादी तथा सिँचाइका लागि सहयोग गर्नेगरी थप कार्यक्रम बनाउने कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए । किसानसँग प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री राजु खनालले किसानलाई हौसला थप्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया