गुल्मी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी रहेको बताएका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले सङ्घीयताको सबलीकरण तथा प्रदेशलाई बलियो बनाउन कार्यक्रमहरूको उपलब्धिमापनमा विशेष ध्यान दिनुपर्ने बताए । प्रदेश सरकार र स्थानीय सरकारबिच नवप्रवर्तनका क्षेत्रमा साझेदारी कार्यक्रम लागु भएको जानकारी गराउँदै उनले त्यस कार्यक्रमको उपलब्धि मापनमा पनि विशेष ध्यान दिन आवश्यक रहेको बताए ।
“हरेक कामलाई उपलब्धिसँग जोड्न जरुरी छ । व्यापक दृष्टिकोणसहित योजनाहरू अघि बढाउनुपर्छ, जसले जनतालाई उपलब्धिसँग जोड्न सकोस्, नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकोस् ।’’ मुख्यमन्त्री आचार्यले भने, “प्रदेशको समग्र विकास र सन्तुलित योजनालाई कार्यान्वयन गर्न सरकार दृढ भएरअघि बढेको छ ।’’
जनस्तरबाट आउने गुनासोको समयमै सम्बोधन, सूचना प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन जोड दिँदै मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
“हामीले प्रवाह गर्ने सूचना प्रभावकारी हुन जरुरी छ । कसैले पनि थाहा पाएनौँ । भन्ने अवस्था आउन दिनु हुँदैन ।’’ उनले भने, “यस काममा कर्मचारी साथिहरुले विशेष ध्यान दिन जरुरी छ ।’’ सेवा प्रवाहसँग जोडिएका कार्यविधि र निर्देशिका संशोधन गरेर समय सापेक्ष बनाइने मुख्यमन्त्री आचार्यले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार