Listen LIVE

राप्ती नदीमा निर्माणाधिन पुल : चार सदस्यीय कार्यदल गठन

नेपालगञ्ज : बाँकेको हुलाकी सडकअन्तर्गत राप्तीनदीको सिधनियाघाटमा निर्माणाधीन पुलको लम्बाइ बढाउनुपर्ने माग स्थानीयले गरेपछि सो बारेमा अध्ययन गरेर सुझाव पेस गर्न चार सदस्यीय कार्यदल गठन गरिएको छ । सिधनिया घाटमा हाल ७०० मिटर लामो पुल निर्माण भइरहेको छ । 

राप्तीनदी वारि र पारीका तीन पालिकाका स्थानीयले पुलको लम्बाइ नबढाए हाल निर्माण भइरहेको पुलले बाढी र डुबानको समस्या समाधान नगर्ने जनाएपछि सो बारेमा छलफल गर्न जनप्रतिनिधिको एक टोली सङ्घीय राजधानी काठमाडौँ गएको थियो । 

सो टोलीले सडक बिभागका महानिर्देशक विजय जैशी हड्खलेसहितको उच्चस्तरीय अधिकारी र निर्माण व्यवसायीसंग संयुक्त छलफल गरेर पुलको लम्बाइ बढाउनैपर्ने अन्यथा समस्या समाधान नहुने अडान राखेपछि सो बारेमा अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न पुल महाशाखाका प्रमुख ललिजन खनालको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरिएको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले बताए ।  

सो कार्यदलमा पुल महाशाखाका डिभिजनल इन्जिनियर सौरभ बज्राचार्य, हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारी र जियो टेक्निकल विज्ञ मलुसुधन शर्मा सदस्य रहेका छन् । कार्यदलले छिटै नेपालगन्ज पुगेर राप्ती पुलको लम्बाइ बढाउने वा नबढाइ हालकै निर्माणलाई पुरा गर्ने बारेमा विस्तृत अध्ययन गर्ने हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले जनाएको छ । 

पुलको लम्बाइ बढाउन सडक विभागमा छलफल गर्न काठमांडौँ पुग्नु भएका लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठले पुलको लम्बाइ कम भएको बारेमा सबै कुरा राखिएको जनाउँदै कार्यदलले प्रतिवेदन पेस गरेपछि लम्बाइ बढाउने निर्णय हुने आशा रहेको बताइन् । 

पुलको लम्बाइ बढाउन छलफल गर्ने उदेश्यले काठमांडाँै पुगेको टोलीमा लुम्बिनी प्रदेशसभा सदस्य मिना श्रेष्ठ, लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी नमुना, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष लवराज खरेल, वडा नम्बर ७ का वडा अध्यक्ष राम लखन थारुको सहभागिता रहेको थियो ।  

राप्ती नदीको सिधनियाघाटमा निर्माण भइरहेको ७०० मिटर लामो नयाँ पुलबाट उक्त क्षेत्रको डुबान र कटानको समस्या समाधान नहुने जनाउँदै सो पुलको लम्बाइ ११ सय ४० मिटर गर्ने माग स्थानीयले लामो समयदेखि गर्दै आएका छन् । राप्ती नदीको बाढी आउने तथा डुबान हुने क्षेत्रको लम्बाई वारपार ११ सय ४० मिटर रहेकोले हाल निर्माण भइरहेको ७०० मिटर लामो पुलबाट समस्या समाधान नहुने देखिएकोले ११ सय ४० मिटरको पुल निर्माण हुनुपर्ने सो क्षेत्रका तीन पालिकाका स्थानीयको माग छ ।  

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जले पुलको लगभग ७५ प्रतिशत निर्माण कार्य पुरा भइसकेको जनाउँदै पुलको लम्बाइ बढाउनुपर्ने माग सुरुबाट हुँदै आएको भएपनि माथिबाट आएको योजना, इस्टिमेट र बजेट अनुसार नै काम गर्नुपर्ने कार्यालयको बाध्यता रहेको जनाउँदै आएको छ ।

प्रतिक्रिया