नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गको यात्रा समय घटाउने निर्णय गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा आज भएको समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्रा समय घटाउने निर्णय गरेको हो ।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, रणध्वज गणका गणपति खिमबहादुर डाँगी, कोहलपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्र शाह लगायतको उपस्थितिमा भएको बैठकले सो निर्णय गरेको हो ।
बैठकले निकुञ्जको सिमानामा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत ओभरी चेकपोस्टदेखि खैरी चेकपोस्टसम्म लगाइएको टाइम कार्डको समयावधि घटाउने निर्णय गरेको हो ।
बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ अनुसार ४० किलोमिटर प्रतिघण्टाको दरले १४ दशमलव २ किलोमिटर दूरी पार गर्नुपर्ने समय निर्धारण गरिएकोमा हाल कायम रहेको न्यूनतम २४ देखि अधिकतम २८ मिनेटको समयलाई घटाएर न्यूनतम २१ देखि अधिकतम २४ मिनेट कायम गरिने भएको छ । वैज्ञानिक तवरले विश्लेषण गर्दा उक्त दूरी न्यूनतम २१ मिनेटदेखि अधिकतम २४ मिनेटमा पार गर्न सकिने देखिएकाले नयाँ समय लागू गर्ने निर्णय गरिएको अध्यक्ष शाहले बताए ।
यसैगरी, राजमार्गमा पर्यटन प्रवद्र्धन, मानव वन्यजन्तु सहअस्तित्व तथा सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा सूचना बोर्ड, होर्डिङ बोर्ड र साइनपोस्ट स्थापना गर्ने निर्णय गरिएको छ । यसका लागि कोहलपुर नगरपालिका र बाँके राष्ट्रिय निकुञ्जबीच आवश्यक समन्वय तथा सहकार्य गरिने भएको छ ।
बैठकले बाँके जिल्लामा पर्यटन प्रवद्र्धन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई …ब्रान्डिङÚ गरी प्रचार–प्रसार गर्ने निर्णय समेत गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकासहित अन्य सरोकारवाला निकायसँग समन्वय गरी जुडुवा नाका, राँझा चोक, नेपालगञ्ज विमानस्थल र कोहलपुर चौराह चोकमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखेर निकुञ्जको प्रचार–प्रसार गर्ने व्यवस्था मिलाइने भएको छ । बैठकमा निकुञ्ज संरक्षणसँगै पर्यटन प्रवद्र्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो ।
कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेना तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ । बैठकमा सहायक अपरेसन अधिकृत निशान श्रेष्ठ, सुपुष्प रेग्मी, प्रेम कार्की, पुर्मला गिरी लगायत रणध्वज गण तथा बाँके राष्ट्रिय निकुञ्जका अधिकारीहरूको समेत सहभागिता थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार