Listen LIVE

नेपालगञ्जका मुस्लिम महिलालाई मतदाता शिक्षा

नेपालगञ्ज : मुस्लिम समुदायको बाक्लो जनसङ्ख्या रहेको नेपालगञ्जका विभिन्न क्षेत्रका मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा प्रदान गरिएको छ । 

मतदाता शिक्षाको अभावमा मुस्लिम समुदायका महिलाहरूको मत बढी बदर हुने गरेको पाइएपछि महिला, कानुन र विकास मञ्च काठमाडौँको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले नेपालगञ्ज–२१, बिर्तागाउँका मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा प्रदान गरेको हो । 

फागुन २१ गते हुन ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२’ लाई लक्षित गरी मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा प्रदान गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष विश्वजित तिवारीले बताए । 

उनले नेपालगञ्ज उपमहानगरमा पछि थपिएका अधिकांश वडाहरू ग्रामिण क्षेत्रमा पर्ने भएकोले ती क्षेत्रका मुस्लिम महिलालाई लक्षित गरेर मतदाता शिक्षा प्रदान गरिएको र सो शिक्षा अन्तर्गत उनीहरूलाई मतदान गर्ने तरिका सिकाउँदै नमुना मतदान समेत गराइएको बताए । 

मतदाता शिक्षा कार्यक्रममा सहभागी अधिकांश मुस्लिम महिलाले विभिन्न निर्वाचनमा भाग लिए पनि अहिलेसम्म मतदान बारे राम्रो ज्ञान नभएकोले मत बदर हुने गरेको जनाउँदै यस पटक राम्ररी सिक्न पाएको बताए । 

कार्यक्रममा सहभागी नेपालगञ्ज २१ का स्थानीय महिला जमिला खानले भनिन, ‘हामी पढे लेखेका छैनौ मतदान गर्ने बेला नजानेर मत बिग्रिन्छ र मत बदर हुन्छ, मतदानबारे हामीलाई अहिले मात्र नभई अरू समयमा पनि सिकाउन जरुरी छ ।’ 

उनले चुनावको बेला राजनीतिक दल र उम्मेदवार सबै मत माग्न आउने तर मतदान गर्ने बारे कसैले पनि नसिकाउने गर्दा समस्या रहेको बताइन् । 

मतदाता कार्यक्रममा निर्वाचन आचारसंहिता, मतदाताको अधिकार तथा भूमिका मतपत्रबारे जानकारी, मतदान गर्न जादा ध्यान दिनुपर्ने कुराहरूलगायतका बारेमा रविन्द्र ज्ञवालीले सहजीकरण गरेका थिए । 

कार्यक्रममा सहभागी महिलाहरूलाई मतदानबारे अभ्यासका लागि नमूना मतदान समेत गराइएको थियो । 

प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको सङ्ख्या न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगञ्जका अध्यक्ष तिवारीले बताए । सो कार्यक्रममा उक्त क्षेत्रका अधिकांश मुस्लिम महिलाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया