सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुमवासीमाथि ज्यादती नगर्न सरकारलाई आग्रह गरेका छन् । उनले जनतालाई कानुन कार्यान्वयनका नाममा आतङ्कित बनाउने काम भइरहेको भन्दै त्यस्ता गतिविधि बन्द गर्न आग्रह गरेका हुन् ।
मुख्यमन्त्री कँडेलले सुकुमवासी व्यवस्थापनका नाममा भएका गतिविधिले जनता उकुसमुकुसको अवस्थामा पुगेको उल्लेख गर्दै भने, æलोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनु पर्छ ।ÚÚ
उनले भूमिहीन तथा सुकुमवासी समस्या क्रमशः समाधान हुने प्रकृतिको भएको उल्लेख गर्दै दीर्घकालीन र व्यावहारिक समाधान खोज्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री कँडेलले राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) ले आफ्नो वाचापत्र कर्णालीबाट सार्वजनिक गरेको स्मरण गराउँदै आगामी बजेटमा प्रदेश सरकारले सङ्घीय सरकारसमक्ष राख्दै आएका योजना र प्राथमिकतालाई समेट्न आग्रह गरे ।
सो अवसरमा वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले कर्णाली प्रदेशको नमुना नगरपालिका बनाउन आफूहरू क्रियाशील रहेको बताइन् । वीरेन्द्रनगरलाई समुन्नत र समृद्ध बनाउन अझै पनि ढल व्यवस्थापनलगायत धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।
सुकुमवासीको विरोध
यसैबिच सुर्खेतका भूमिहीन तथा सुकुमवासीले वैकल्पिक व्यवस्था नगरी भूमिहीन र सुकुमवासीको उठिबास गराउन लागेको भन्दै वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरेका छन् । उनीहरूले बर्सौंदेखि बसोबास गर्दै आएको स्थानमा उचित विकल्प नदिई बलपूर्वक हटाउनु अन्यायपूर्ण भएको बताएका छन् ।
साथै सरकारले बसोबासको समस्या समाधान गर्न संवाद र सहकार्यको बाटो अपनाउनुपर्ने र सुकुमवासी समुदायले सुरक्षित आवास, वैकल्पिक व्यवस्थापन तथा स्थायी बसोबासको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार