Listen LIVE

युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाण्डौ : राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् । 

राजधानीमा सोमवार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीयता, सूचना प्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारे । 

उनले भने,  ‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जन लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।’ 

युवा जनशक्तिको कुरा गर्दा दिनानुदिन विदेश पलायन भइरहेको शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको बताउँदै उनले हामीसँग यति धेरै प्राकृतिक सम्भावना छन्, तिनलाई समुचित ढङ्गले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन पर्ने छैन भने । “यसका लागि हाम्रा स्रोत र सम्भावनाअनुरुपको सीप र लगनशीलताको निर्माण र राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकूल स्वाभिमानी र स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता हो” राष्ट्रपति पौडेलले भने ।  राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउँदै भने,  ‘साहस, सिर्जनशीलता, उत्सुकता एवं उच्च आत्मविश्वासका कारण यो समूहलाई राष्ट्र निर्माणको प्रमुख स्रोत मानिन्छ । तसर्थ राष्ट्रको समग्र विकास र परिवर्तनमा युवाको अहम् भूमिका रहन्छ । परापूर्वकालदेखि नेपाली युवाले साहसी, योद्धा, वीरताको प्रतिक तथा विकास र परिवर्तनको संवाहकको रुपमा भूमिका निर्वाह गर्दै आएका छन् ।’

प्रतिक्रिया