खजुरा (बाँके) : लामो समयदेखि कान दुख्ने, पाक्ने, कानेगुजी जम्ने तथा अन्य समस्या भए पनि उपचारका लागि अस्पताल पुग्न नसकेका स्थानीयलाई लक्षित गरी बाँकेको खजुरा गाउँपालिकामा निःशुल्क कान स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
खजुरा गाउँपालिकाको आयोजनामा सञ्चालित शिविरमा गाउँपालिकाका विभिन्न क्षेत्रबाट आएका ५३२ जनाको कान परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ। शिविरमा महिला तथा पुरुषको उल्लेख्य सहभागिता रहेको थियो।
गाउँपालिकाका अध्यक्ष डम्बर विकका अनुसार परीक्षणका क्रममा ७५ जनामा कान पाक्ने समस्या, ६१ जनामा कानेगुजी जम्ने, ३३ जनामा कानमा ढुसी देखिने र १८ जनामा कानमा मासु पलाउने समस्या पाइएको छ। थप उपचार तथा शल्यक्रिया आवश्यक देखिएका २८ जनालाई उपचारका लागि नेपालगन्ज रेफर गरिएको अध्यक्ष विकले बताए ।
कानमा समस्या देखिए पनि सामान्य ठानेर लामो समयसम्म उपचार नगर्ने प्रवृत्तिका कारण कतिपय अवस्थामा समस्या जटिल बन्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन्। शिविरले स्थानीयलाई आफ्नो कानको अवस्थाबारे जानकारी लिन र समयमै उपचारको पहुँचमा पुग्न सहयोग गरेको अध्यक्ष विकको भनाइ छ।
ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, नेपालगञ्जका कान परीक्षण तथा स्वास्थ्य परामर्शमा संलग्न सहायक चिकित्सक भीषण थारु, तीर्थमान थारु, दामोदर चौधरी र सीताकुमारी चौधरीलगायत स्वास्थ्यकर्मीले शिविरमा कान परीक्षण तथा स्वास्थ्य परामर्श दिएका थिए।
शिविरमा ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, नेपालगञ्जले प्राविधिक सहयोग गरेको थियो। गाउँपालिकाले स्थानीयस्तरमै विशेषज्ञ तथा प्राविधिक स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरेको जनाएको छ।
शिविरका क्रममा कानसम्बन्धी समस्या भएका सेवाग्राहीलाई आवश्यक उपचार, औषधि तथा थप उपचारका लागि परामर्शसमेत दिइएको सहायक चिकित्सक भीषण थारुले बताए। उनका अनुसार शल्यक्रिया आवश्यक देखिएका २८ जनालाई थप उपचारका लागि रेफर गरिएको हो।
ब्रिनोजका आउटरिच इन्चार्जसमेत रहेका थारुका अनुसार शिविरमा स्थानीयको उत्साहजनक सहभागिता रहेको थियो। ठूलो सङ्ख्यामा स्थानीय कान परीक्षणका लागि आएपछि ग्रामीण क्षेत्रका समुदायमा कानसम्बन्धी समस्या उल्लेख्य रहेको पाइएको उनले बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार