यदुराज मिश्र/नेपालगञ्ज : पुष लागेसँगै बाँकेमा बाक्लो हुस्सु र अत्याधिक चिसोले जनजीवन कष्टकर बन्दै गएको छ । बिहानैदेखि शितलहरसँगै चिसो हावा चलेपछि मानिसहरु घरभित्रै बस्न बाध्य छन् ।
घाम नलागेको ६ दिन भइसक्यो । थरथर कपाउने जाडोले दिनभर विशेष गरी ज्याला मजदुरी गर्ने कामदारलाई समस्या भएको छ ।
हुस्सुका कारण दिउँसो सडकमा सवारी साधन आवागमनमा कमी आएको छ । ट्राफिक प्रहरीले दिउँसो पनि बत्ती बालेर सवारी चलाउन सवारी चालकलाई अनुरोध गरेको छ ।
चिसोका कारण बाँकेका अस्पतालमा पनि रुघा, खोकी, दम, ज्वरो र निमोनियाका बिरामीहरुको संख्या बढेको अस्पतालहरुले जनाएका छन् । भेरी अस्पतालका वरिष्ठ फिजिशियन डा. राजन पाण्डेले अस्पतालमा अहिले सबैभन्दा बढी दमका विरामी आउने गरेको बताए । उनले जाडोयाम शुरु भएसँगै भेरी अस्पतालमा अहिले रुघा, खोकी, दम, ज्वरो, निमोनियालगायतका विरामी आउनेको संख्या बढ्दै गएको जानकारी दिए । डा. पाण्डेले दीर्घरोगीलाई विशेष सावधानी अपनाउन सुझाव दिए ।
जाडोबाट बच्नका लागि न्यानो कपडा लगाउनुका साथै अत्यावश्यक कामबाहेक घरबाट बाहिर नकिस्किन आग्रह गर्दैै डा. पाण्डेले बन्द कोठाभित्र कोइलाको आगो र हिटर प्रयोग नगर्न सुझाव दिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले विपद् पूर्वतयारी समितिको आजै बैठक बसिरहेकाले चाँडै कुनै नकुनै उपाय निकालिने जानकारी दिए । उनले बाँकेको प्रायः जसो सबै ठाउँमा अगो ताप्ने व्यवस्थाका लागि दाउरा उपलब्ध गराईदिन डिभिजन वन कार्यालय बाँकेलाई पत्राचार गर्नुका साथै नागरिकलाई आगो ताप्ने व्यवस्था मिलाई दिनका लागि सबै स्थानीय तहलाई पनि आग्रह गरिसकिएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार