Listen LIVE

ब्राउन सुगरसहित बाँकेमा तीन जना पक्राउ

नेपालगञ्ज : बाँके जिल्लाका विभिन्न स्थानबाट अवैध लागुऔषध ब्राउनसुगरसहित प्रहरीले श्रीमान–श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–११ बाट अवैध लागुऔषध ब्राउनसुगर ६ ग्राम ३५० मिलिग्राम र नगद ८९ हजार ९ सय रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा कोहलपुर–११ मा डेरा गरी बस्ने कालिकोटको रास्कोट नगरपालिका–५ घर भएका २३ वर्षीय मुकेश बम र उनकी २० वर्षीया श्रीमती कृपा तामाङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरू बस्दै आएको कोठा तलासी गर्ने क्रममा उक्त परिमाणको ब्राउनसुगर र नगद रकम फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसैगरी बाँकेको खजुरा गाउँपालिका–७ गुनाहाना चोकबाट अवैध लागुऔषध ब्राउनसुगर १ सय १० मिलिग्रामसहित सोही स्थानका ४७ वर्षीय समि उल्ला भाटलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया