Listen LIVE

बाँकेमा कुष्ठरोगीसँग गरिने व्यवहारमा परिवर्तन हुँदै

यदुराज मिश्र/नेपालगञ्ज : कुष्ठरोगीलाई अझै समाजको डर छ । यो रोग लागेका व्यक्तिलाई कतिपय ठाउँमा अझै घृणाको दृष्टिले हेरिन्छ । माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म कीटाणुबाट लाग्ने कुष्ठरोग समयमै उपचार गराएमा पूर्णरूपमा निको हुन्छ । देशका अधिकांश ठाउँमा कुष्ठरोगीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन नहुँदा कुष्ठरोगी आफ्नो रोग लुकाउन तथा समाजमा खुल्न सकेका छैनन् । 

धेरै ठाउँका कुष्ठरोगी घरपरिवार र समाजबाट अपहेलित भइरहेका बेला बाँकेको डुडुवा गाउँपालिकामा भने त्यस्तो अवस्था छैन । त्यहाँका कुष्ठरोगीलाई समाजले समान व्यवहार देखाएका छन् । जसले गर्दा कुष्ठरोग लागेका व्यक्ति आफूलाई कुष्ठरोग लागेको भन्न हिचकिच्याउँदैनन् । विगतमा त्यस्ता रोगीलाई हेर्ने दृष्टिकोणमा फरक भए पनि अहिले भने डुडुवासीमा परिवर्तन आएको छ । कुष्ठरोगी सँगसँगै बस्ने, सँगै खानेलगायत हरेक क्रियाकलापमा सबै सहभागी हुन्छन् । 

डुडुवा गाउँपालिका–६, का ६२ वर्षीय आरिफ (नाम परिवर्तन)ले यहाँ कुष्ठरोगीसँँग कुनै भेदभाव नरहेको बताए । स्वयम् कुष्ठरोगबाट मुक्त भएको बताउँदै उनले विगतमा कुष्ठरोगीसँग दुव्र्यवहार हुने गरेको भए पनि अहिले मानिसको धारणामा परिवर्तन भएको जानकारी दिए । 

२० वर्षको ठिटो उमेरमै आफूलाई कुष्ठरोग लागेको थियो । त्यसबखत घरपरिवारदेखि गाउँ समाजबाट दुव्र्यवहार खेप्नु पर्यो, उनले विगत सम्झिँदै भने, “घरपरिवारका सदस्यले खाने थाल र बस्ने, सुत्ने ठाउँसमेत अलग गरिदिएका थिए । गाउँ समाज तथा आफन्तले रोग सर्ला भनेर कुरा गर्न नमान्ने, सँगै आगो ताप्न नदिने, भोजभतेर सँगै खान नदिने, नाउले समेत कपाल काट्न नमान्ने दुःखान्त उनले सुनाए । अहिले भने समाजमा चेतनाको विकास भएपछि पहिला जस्तो हेला खेप्नु परेको छैन । 

यस्तै डुडुवा वडा नं. २ का ५४ वर्षीय राम जिआवन (नाम परिवर्तन)लाई पाँच वर्षअघि कुष्ठरोग लागेको थियो । स्वास्थ्य जाँचपछि नियमित औषधी सेवन गरेपछि उनको रोग निको भएको छ । उनले सो रोग हुँदा कतैबाट हेला खेप्नु नपरेको बताए । घरका सदस्यले औषधोपचार गराउन लैजाने र सँगै खाने बस्ने गरेको उनले सुनाए । 

डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमख हेमन्त शर्माले कुष्ठरोगीसँग गरिने पहिला जस्तो भेदभाव अहिले नरहेको बताए । 

उनले डुडुवा गाउँपालिकामा पहिचान गरिएको १६ जना सव्रिmय कुष्ठरोगी रहेको जानकारी दिए । जसमध्ये १३ जना पुरुष र ३ जना महिला रहेका छन् । स्वास्थ्य शाखा प्रमुख शर्माका अनुसार सबै १६ जनाले औषधि सेवन गरिरहेका छन् । कुष्ठरोग औषधी सेवन गरेपछि निको हुन्छ र सर्दैन भन्ने चेतनाको विकास भएको उनको भनाइ छ । 

डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनिया हेल्थपोष्टका इञ्चार्ज भीम विकले कुष्ठरोगीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन भइरहेको बताए । कुष्ठरोग उपचारबाट निको हुने रोग भएकाले यो कुनै अघिल्लो जुनीको पाप नभएको जानकारी दिन जनचेतनालगायत मनोविमर्श शिविर चलाउन आवश्यक रहेको सुझाव दिए ।

प्रतिक्रिया