Listen LIVE

ओभरी सर्पदंश उपचार केन्द्रमा एक सय बढीको उपचार

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका –८ ओभरीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्ष २०८२–८३ मा सर्प तथा बिच्छीको टोकाइका एकसय २४ जना बिरामीले उपचार सेवा लिएका छन् । 

तीमध्ये ५५ जना सर्पदंशका बिरामी रहेको सो उपचार केन्द्रका अहेब नन्दलाल पाण्डेले जानकारी गराए । उनका अनुसार सर्पदंशका ५५ बिरामीमध्ये २९ जना महिला र २६ जना पुरुष रहेका थिए । उनीहरूमध्ये पाँच जनालाई अति विषालु सर्पले टोकेको थियो । 

समयमै उपचारका लागि स्वास्थ्य संस्थामा पुगेका कारण उनीहरूको सफल उपचार गरिएको अहेब पाण्डेले बताए । यस्तै, सोही अवधिमा बिच्छीले टोकेका ६९ जनाले पनि सो उपचार केन्द्रबाट उपचार सेवा लिएको जनाउँदै उनले बिच्छीले टोकेकामध्ये ४२ जना महिला र २७ जना पुरुष रहेको बताए । 

साउनदेखि असोजसम्मको वर्षायाममा सर्पदंशका घटना बढी हुने गरेका छन् । वर्षाका कारण सर्पको बासस्थानमा पानी भरिएपछि सर्प सुरक्षित र सुख्खा स्थानको खोजीमा घर, गोठ, खेतबारी तथा मानिसको आवत–जावत हुने स्थानमा निस्कने भएकाले सोही समयमा सर्पदंशका घट्ना बढी हुने गर्छ ।  

त्यस्तै, धान रोपाइँ, घाँस काट्ने, दाउरा संकलन गर्ने तथा खेतमा नाङ्गो खुट्टाले काम गर्ने क्रममा पनि सर्पदंशका घटना बढी हुने गरेको स्थानीयले जनाएका छन् । राप्तीसोनारीको कचनापुरका स्थानीय भपेन्द्र खत्रीले अधिकांश सर्पले मानिसलाई आक्रमण गर्ने उद्देश्यले नभइ आत्मरक्षाका लागि टोक्ने गरेको देखिएको बताए । 

उनले तत्काल उपचार केन्द्रसम्म लग्न सकिए ज्यान जोगाउन सकिने रहेछ भन्ने पुष्टि भएको बताए । स्वास्थ्यकर्मीका अनुसार सर्पदंशबाट बच्न रातिको समयमा टर्च वा बत्तीको प्रयोग गर्ने, खेतबारी वा झाडीमा काम गर्दा बुट र लामो पाइन्ट लगाउने, घर वरिपरि झाडी तथा फोहोर नराख्ने, मुसाको संख्या नियन्त्रण गर्ने, सुत्दा झुल प्रयोग गर्ने तथा सर्प देखिएमा समात्ने वा मार्ने प्रयास नगरी सुरक्षित दूरी कायम गर्नु आवश्यक छ । 

सर्पले टोकेमा झारफुक, धामीझाँक्री वा घरेलु उपचारमा समय खर्च नगरी सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा सर्पदंश उपचार केन्द्रमा पुग्नुपर्ने अहेब पाण्डेले बताए ।

प्रतिक्रिया