Listen LIVE

ओलीको प्रश्न : कसैले मेरो भन्दैन, सरकार कसको हो ?

काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको र कसले बनाएको भन्ने नै स्पष्ट नभएको बताएका छन्।

पार्टी निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको टिमसँग आइतबार बिहान आफ्नै निवास गुण्डुमा छलफल गर्दै अध्यक्ष ओलीले अपनत्व कसैले पनि नलिएको भन्दै सरकारप्रति प्रश्न उठाएका हुन्।

‘यो सरकार कसको प्रतिनिधि हो ? जेनजीले मेरो सरकार होइन भन्छ । दलले हाम्रो सरकार होइन भन्छन् । संसदले यसलाई म चिन्दिनँ भन्छ । संविधानले मसँग यस्तो सरकार बनाउने व्यवस्था नै छैन भन्छ’ अध्यक्ष ओलीले प्रश्न गरे ‘आखिर यो सरकार कसको हो ?’

सरकारले तोडफोड र आगजनीमा संलग्नलाई कारबाही नगरेर दण्डहीनतालाई प्रश्रय दिएको ओलीको आरोप छ ।

‘विभिन्न नामका समुह खडा गरेर कहिले २४ गतेका विध्वंसकारीलाई पक्रन हुँदैन भन्ने ज्ञापन पत्र बुझाउन लगाएको छ। कहिले केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्यो भन्न लगाएको छ’ अध्यक्ष ओलीले भने ‘यो कुनै जेनजी समूहले गरेको होइन। सरकारले आफैं यस्ता समूहहरु खडा गरेर,आफैं ज्ञापन पत्रको ड्राफ्ट बनाएर बुझाउन लगाएको नाटक हो ।’

यस्ता ड्राफ्ट कहाँ बने र कसले बनायो भन्ने कुराको अभिलेख पनि आफूहरूसँग भएको ओलीको दाबी छ।

अध्यक्ष ओलीले मुलुकलाई सही बाटोमा ल्याउन संसद पुनस्र्थापना एक मात्र विकल्प भएको बताए।

‘अवैधानिक र अनधिकृत रुपबाट विघटन गरिएको संसदलाई पुनःस्थापना गरेर मात्र देशलाई सही बाटोमा हिँडाउन सकिन्छ’ अध्यक्ष ओलीले भने ‘यदि यस्तै असंवैधानिक तरिकाले संसदलाई विघटन गर्दै जाने हो भने नजिर बस् । जसले देशलाई संवैधानिक बाटोमा फर्कन अवरोध गर्दछ । त्यसकारण यो कोर्स अहिले नै करेक्सन गर्नु पर्दछ ।’

प्रतिक्रिया