Listen LIVE

जानकी गाउँपालिकामा आठ सय कम्बल वितरण

जानकी (बाँके) : पुषको शुरुवातसँगै बाँकेमा बाक्लो हुस्सु र शीतलहर बढेको छ। घाम नलाग्ने दिन, चिसो हावा र बढ्दो जाडोले गरिब, वृद्ध, अपाङ्गता भएका र असहाय नागरिकको दैनिकी कष्टकर बनेको छ।

यही अवस्थालाई ध्यानमा राख्दै जानकी गाउँपालिकाले चिसोबाट जोगाउने उद्देश्यले कम्बल वितरण कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन शाखामार्फत शुक्रबार करिब ८ सय थान कम्बल वितरण गरिएको हो।

जिन्सी शाखा प्रमुख राजु यादवका अनुसार पुस लाग्नासाथ जाडो असामान्यरूपमा बढेपछि जोखिममा परेका नागरिकलाई तत्काल राहत दिन कार्यक्रम अघि बढाइएको हो। उनले यो सहयोग चिसोबाट ज्यान जोगाउने उपायका रूपमा लिइएको बताए।

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति र अति विपन्न परिवारलाई प्राथमिकतामा राखेर कम्बल वितरण गरिएको जानकारी दिए। उनले स्थानीय सरकारले नागरिकको दुःख–सुखमा साथ दिनु आफ्नो दायित्व भएको बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लक्ष्मी नारायण शाहले जाडोको समयमा यस्ता राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिइन्। उनले कम्बलसँगै खाना र न्यानो कपडाको व्यवस्था गर्न सके सहयोग अझ उपयोगी हुने बताइन्।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादवले चिसोबाट प्रभावित नागरिकलाई राहत दिनु स्थानीय सरकारको जिम्मेवारी भएको उल्लेख गर्नुभयो। सूचना प्रविधि अधिकृत विकास जिसीले वास्तविक लाभग्राहीको पहिचान गरी पारदर्शी रूपमा वितरण गरिएको जानकारी दिए।

कम्बल पाएपछि स्थानीय वृद्धवृद्धाले राहत महसुस गरेका छन्। मानपुरकी वृद्धा सुदारा कुम्हारीनले कम्बलले जाडोमा धेरै सहारा पुगेको बताइन्। शिवशंकर र दुखीरामले पनि सहयोगले रात काट्न सहज हुने प्रतिक्रिया दिए।

वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख राजेन्द्र बजपाईका अनुसार शीतलहरबाट जोगिन गाउँपालिकाले वडाका स्वास्थ्य चौकी, प्रहरी चौकी र सार्वजनिक स्थलमा दाउरा वितरण गर्नसमेत सुरु गरेको छ।

कम्बल वितरण कार्यक्रममा कार्यपालिका सदस्य राम अचल धोबी, प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शोभा पौडेल, गाउँपालिका अध्यक्षका प्रमुख स्वकीय सचिव सोराभ अलि इद्रीसी लगायत कर्मचारीको सहभागिता रहेको थियो।

प्रतिक्रिया