नेपाली काङ्ग्रेस बाँके क्षेत्र नं. ३ का उम्मेदवार अमर सिंह पुनले आज भब्य समारोह बिच प्रतिज्ञा पत्र सार्वजनिक गर्नु भएको छ । 'समुन्नत बाँके, सम्मानित बाँकेबासी' को संकल्पसहित नेपाली कांग्रेसका तर्फबाट बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पुनले सो क्षेत्रको चौतर्फी विकासका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्नु भएको हो । सार्वजनिक पत्रमा पूर्वाधार, स्वास्थ्य, शिक्षा र सुशासनलाई मुख्य प्राथमिकता दिइएको छ । प्रतिज्ञा पत्रमा कोहलपुर-चिसापानी र मानखोला सडक खण्डको बिस्तार र स्तरोन्नति, खजुरा र जानकी गाउँपालिकाका ग्रामीण सडकहरूको स्तरोन्नति गर्ने र विद्युतको कम भोल्टेज समस्या समाधान गर्न उच्च क्षमताका ट्रान्सफर्मरहरू जडान गर्ने ,सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई अत्याधुनिक स्रोत-साधनसम्पन्न "डेडिकेटेड हस्पिटल" को रूपमा विकास गर्ने र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने योजना छ । यस्तै शिक्षा क्षेत्रमा प्रत्येक पालिकामा ई-लाइब्रेरी र डिजिटल लर्निङसहितका नमूना बिद्यालय निर्माण गर्ने र प्राविधिक शिक्षामा जोड दिने उल्लेख छ । 'एक वडा, एक उत्पादन' कार्यक्रममार्फत कृषि उत्पादन बढाउने, संकलन केन्द्र र
शितभण्डार निर्माण गर्ने तथा सिक्टा सिँचाइ आयोजनाको प्रभावकारी व्यवस्थापन गरी सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ यस्तै युवाहरूमा उद्यमशीलता विकास गर्न युथ इनोभेसन सेन्टर स्थापना गर्ने, गणपुर-बेलहरी-गैधवा क्षेत्रलाई औद्योगिक करिडोरको रूपमा विकास गर्ने र स्थानीय स्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्ने बाचा गरिएको छ ।
सीमावर्ती क्षेत्रको जमिनको मूल्यांकनको आधारमा बैंक धितो राख्न पाउने नीतिगत व्यवस्था गर्ने, नागरिकको गुनासो सुन्न निर्वाचन क्षेत्रमै सांसद कार्यालय स्थापना गर्ने र सरकारी सेवालाई छिटो-छरितो बनाउन ई-गभर्नेन्स (E-Governance) लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
लोकतन्त्र र संविधानको उम्मेदवार पुनले संस्थागत विकास गर्दै आगामी पाँच वर्षमा क्षेत्रको समृद्धिका लागि काम गर्ने अठोट व्यक्त गर्दै मतदाताहरूसँग अमूल्य मतको अपिल गर्नु भयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार