नेपालगञ्ज : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशका युवा पुस्तामा राजनीतिक चेतना जागेको जेनजी प्रतिनिधिहरूले बताएका छन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले नेपालगञ्जमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय जेनजी युवापुस्ता र राजनीतिक दलका प्रतिनिधिबिच गरिएको छलफल कार्यक्रममा जेनजी प्रतिनिधिहरूले यस्तो बताएका हुन् ।
जेनजी प्रतिनिधि सन्ध्या गैरेले जेनजी आन्दोलनपछि देशको युवापुस्तामा राजनीतिक चेतना जागेको र राजनीतिप्रति लगाव बढेको बताइन् । उनले आन्दोलन अघि देशमा व्याप्त भ्रष्टाचार, बेथिति तथा बेरोजगारीका कारण युवा पुस्ताले राजनीतिप्रति घृणा गर्नेगरेको उल्लेख गर्दै अहिलेको राजनीतिक परिवर्तन ल्याउन जेनजी पुस्ताले गरेको आन्दालेनले चेतना बढाएको उल्लेख गरिन् ।
जेनजी प्रतिनिधि रमेश वरले जेनजी आन्दोलनपछि आएको परिवर्तित व्यवस्थामा हरेक तह र क्षेत्रमा जेनजी युवाको सहभागिता हुनु पर्ने बताए । अर्का जेनजी चन्द्रप्रकाश जैसीले राजनीतिक दलमा युवाको प्रतिनिधित्व र सहभागिता दयनीय रहेको बताए ।
युवा लालबहादुर खड्काले तत्कालीन अवस्थामा माओवादीले सुरु गरेको जनयुद्धका आन्दोलनकारीलाई अझैसम्म आतङ्ककारीको बिल्ला भिराउनु गलत भएको बताए ।
जेनजी उमेर समूहकै नियोक कार्यक्रम संयोजक प्रार्थना थापा क्षेत्रीले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले जेनजी आन्दोलनका कारण राजनैतिक दलमा पनि परिवर्तन सुरु भएको उल्लेख गरेका थिए । नेपाली कांग्रेस बाँकेका सचिव एवम् बाँके क्षेत्र २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका सुधांशुले जेनजी आन्दोलनकै कारण आफूलाई पार्टीले युवाका तर्फबाट आगामी निर्वाचनमा उम्मेदवारका रूपमा छनोट गरेको बताए ।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य आइपी खरेलले राजनीतिमा धैर्यता आवश्यक भएको हुँदा जेनजी प्रतिनिधिहरूले धैर्य गर्न सिक्नु पर्ने बताए । नियोकका केन्द्रीय अध्यक्ष डा. गोपालकृष्ण शिवाकोटीले निर्वाचन अनुगमन सुदृढ गर्नका लागि र निर्वाचन पर्यवक्षण गर्नका लागि सन् १९९० देखि नियोकको स्थापना गरी हालसम्मका सम्पूर्ण निर्वाचनमा सक्रियपूर्वक पर्यवेक्षण गर्दै आइरहेको उल्लेख गरे ।
बाँकेका प्रजिअ दिलकुमार तामाङले जिल्लामा शान्ति सुरक्षा र निर्वाचनका तयारीका बारेमा सम्पूर्ण सरोकारवाला पक्षसँग समन्वय, सरसल्लाह तथा सुझाव लिँदै आवश्यक कार्यहरू गरिरहेको उल्लेख गरे ।
बाँके जिल्लाका न्यायाधिश दीपककुमार दाहालले जेनजी पुस्ता ध्वंस र जिद्दीपनलाई छाडेर तार्किक तथा वैचारिक रूपमा उठ्नु पर्ने बताए ।
नियोक लुम्बिनी प्रदेश अध्यक्ष अधिवक्ता वसन्त गौतमले जेनजी आन्दोलनपछि देशको बदलिँदो परिवेशमा गहिरिएर छलफल गर्नका लागि जेनजी उमेर समूहसहित सबै उमेर समूह, राजनैतिक दलका प्रतिनिधिलगायत अन्य पक्षहरूसँग छलफल कार्यक्रम गरिएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार