बर्दिया : बर्दियामा मानव बस्ती तथा सामुदायिक वनक्षेत्रमा पुगेका १६२ वटा समस्याग्रस्त वन्यजन्तुको उद्धार गरिएको छ । आर्थिक वर्ष २०८२/८३ मा वन्यजन्तु तथा मानवबिचको द्वन्द्वबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि उद्धार टोली परिचालन गरी ती वन्यजन्तुको सुरक्षित उद्धार गरिएको हो ।
डिभिजन वन कार्यालयका वनरक्षक भूपेन्द्रबहादुर शाहीका अनुसार उद्धार गरिएका वन्यजन्तुमा आठ चितुवा, दुई भैँसे गोहोरो, दुई सुन गोहोरो, कछुवा, नीर बिरालो, मगर गोही, रातो बाँदरलगायत छन् । बस्ती तथा सामुदायिक वनक्षेत्रमा समस्यामा परेका ती वन्यजन्तुलाई उद्धार गरी उपयुक्त प्राकृतिक वासस्थानमा छाडिएको छ ।
वनरक्षक शाही भन्छन, 'वन्यजन्तुसँगै बर्दियामा घर तथा बस्तीमा प्रवेश गरेका विषालु सर्पको समेत नियमित रूपमा उद्धार हुँदै आएको छ । आव २०८२/८३ मा मात्रै सर्वसाधारणका घर तथा बस्तीमा पुगेका १४६ वटा विषालु सर्प उद्धार गरिएको छ ।' उहाँका अनुसार उद्धार गरिएका सर्पमा गोमन, करेत, रसल भाइपरलगायत विषालु प्रजातिका छन् । गर्मी तथा वर्षायाममा सर्पहरू सुरक्षित स्थानको खोजीमा मानव बस्ती तथा घरभित्र प्रवेश गर्ने व्रmम बढ्ने भएकाले त्यस्ता घटनामा कार्यालयले तत्काल उद्धार टोली परिचालन गर्ने गरेको छ ।
डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत रामगोपाल चौधरीले वन्यजन्तु तथा विषालु सर्पका कारण मानवीय क्षति हुन नदिन कार्यालयमा २४ घण्टा उद्धारटोली तयारी अवस्थामा राखिएको बताए । उनले भने, 'वन्यजन्तु वा विषालु सर्प बस्तीमा आएको सूचना प्राप्त हुनासाथ मानवीय क्षति हुन नदिन हाम्रो टोली तत्काल परिचालन हुन्छ । उद्धार गरिएका वन्यजन्तुलाई अवस्था र प्रजाति अनुसार उपयुक्त प्राकृतिक वासस्थानमा छाड्ने गरिएको छ ।'
गुलरिया नगरपालिका–४, तुल्सीपुरका सुबोध मल्लका अनुसार केही समयअघि घरभित्र गोमन सर्प पसेपछि डिभिजन वन कार्यालयमा खबर गरिएको थियो । उनले सूचना पाएलगत्तै वन कार्यालयको टोली घरमै पुगेर सर्पको सुरक्षित उद्धार गरेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार