Listen LIVE

भारतीय क्रिकेटर जसप्रित बुमराहको कीर्तिमान!

काठमाण्डौ : भारतीय क्रिकेट टोलीका बलर जसप्रित बुमराह सबैभन्दा कम टेस्ट खेल खेलेर २०० विकेट लिने भारतका पहिलो फास्ट बलर बनेका छन्।

बुमराहले यो कीर्तिमान भारत र अष्ट्रेलियाबीच चलिरहेको टेस्ट सिरिजको क्रममा मेलबर्नमा चलिरहेको चौथो टेस्ट म्याचमा बनाएका हुन्। बीसीसीआईले पनि जसप्रित बुमराहलाई उनको उपलब्धिको लागि बधाई दिएको छ।

विशेष कुरा के छ भने जसप्रित बुमराहको औसत यस मामिलामा उत्कृष्ट छ। उनले वेस्ट इन्डिजका माल्कम मार्शल, जोएल गार्नर, कर्टली एम्ब्रोस र इङ्ल्यान्डका फ्रेड ट्रुम्यानलाई पछाडि छोडेका छन्।

बुमराहले सबैभन्दा कम रन खर्चेर २०० विकेट मात्रै हासिल गरेका छैनन्, उनको स्ट्राइक रेट पनि यी बलरभन्दा निकै राम्रो छ।

बुमराहले मात्र ४२.१ को स्ट्राइक रेटमा २०० विकेट पूरा गरेका छन्। यस मामिलामा दक्षिण अफ्रिकाका बलर कागिसो रबाडा मात्र उनीभन्दा माथि छन्।

भारतका लागि सबैभन्दा कम टेस्ट खेलमा २०० विकेटको कुरा गर्ने हो भने रविचन्द्रन आश्विन यस मामिलामा शीर्ष स्थानमा छन्, जसले ३७ टेस्ट खेलमा यो उपलब्धि हासिल गरेका छन्। यस्तोमा बुमराह र जडेजा दुवैले ४४ औं टेस्टमा यो कीर्तिमान बनाएका छन्।

बुमराहले आफ्नो पहिलो टेस्ट खेल ५ जनवरी २०१८ मा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए। हालसम्म ४३ टेस्ट खेलमा बुमराहले १२ पटक एक इनिङमा ५ वा सोभन्दा बढी विकेट लिएका छन्।

हालको ४४औँ टेस्टमा पनि उनले पहिलो इनिङ्समा ४ अष्ट्रेलियाका ब्याट्सम्यानलाई प्याभिलियन पठाएका थिए भने अब दोस्रो इनिङ्समा पनि ४ विकेट लिएका छन्।

बुमराहले आफ्नो एकदिवसीय करियर जनवरी २०१६ मा अस्ट्रेलिया विरुद्ध सिड्नीमा सुरु गरेका थिए। उनले अहिलेसम्म ८९ ओडीआई खेलेका छन् र १४९ विकेट लिएका छन्। जहाँ बुमराहले २३३ टी–२० खेल खेलेर २९५ विकेट लिएका छन्।

बुमराहले सन् २०२२ मा ओभलमा इंग्ल्याण्ड विरुद्धको एकदिवसीय खेलमा गरेको बलिङको आज पनि चर्चा छ।

यस खेलमा बुमराहले खेलको पहिलो १० ओभरमा मात्र ९ रन दिएर चार विकेट लिएका थिए। उनले इङ्ल्यान्डका शीर्ष चार ब्याट्सम्यानमध्ये तीनलाई आफ्नो खाता खोल्न पनि दिएनन् र यो एकदिवसीय क्रिकेटको इतिहासमा पहिले कहिल्यै भएको थिएन।

प्रतिक्रिया