बर्दया : अवैधरूपमा नेपाल प्रवेश गर्न लागेका श्रीलंकाका तीन नागरिकसहित एक तामिलभाषी भारतीयलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ। उनीहरू नेपाल–भारत सीमाको निधीपुरुवामा पक्राउ परेका हुन्।
भारतीय सुरक्षा अधिकारीका अनुसार पक्राउ पर्नेमा श्रीलंकाको जाफ्नाका वि. अजित कुमार, उनकी श्रीमती कौशल्यादेवी र धले बम तथा भारतको तमिलनाडुका सुथागर रहेका छन्। उनीहरूलाई कात्तिक ४ गते पक्राउ गरे पनि शुक्रबार मात्रै जानकारी गराइएको हो।
भारतीय सुरक्षा स्रोतका अनुसार नेपाल प्रवेश गरेपछि उनीहरू शरणार्थीका रूपमा युरोपको फ्रान्स वा बेलायत जाने तयारीमा थिए। उनीहरू दलालमार्फत नेपाल आउन लागेको सुरक्षा स्रोतको दाबी छ। बर्दियासँग जोडिएको घना जंगलको छेउमा रहेको निधीपुरुवा हुँदै चित्लहवा नाकाबाट गुलरिया आउन लागेका थिए।
चारै जनालाई भारतीय प्रहरीको जिम्मा लगाइएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको छ। पक्राउ परेका चारै जनालाई उत्तर प्रदेश राज्यको बहराइच जिल्लास्थित मुर्तिहा कोतवाली थानामा राखिएको छ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाले सीमावर्ती भारतमा श्रीलंकाका तीन र एक भारतीय नागरिक पक्राउ परेको जानकारी आएको बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार