नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेखले थ्रेसर मेसिन सञ्चालन गरेर गाउँमै स्वरोजगार बनेका छन् । सात वर्षअघि रु तीन लाख ५० हजार लगानीमा थ्रेसर खरिद गरेका उनले धान झार्ने मुख्य याममा खर्च कटाएर करिब रु एक लाख ५० हजारसम्म खुद मुनाफा कमाउने गरेका छन् ।
शेखले थ्रेसर सञ्चालन गरेबापत प्रतिघण्टा दुई हजार ५०० वा एक क्विन्टल धानमा १२ किलोका दरले सेवा शुल्क लिने गरेका छन् । उनका अनुसार थ्रेसरले एक घण्टामा १० कट्ठासम्मको धान झार्न सकिन्छ । यसले समय र श्रम बचत गर्नुका साथै खेताला खोज्नुपर्ने झन्झट पनि घटाएको छ ।
'धेरै जग्गा भएका र घरमा काम गर्ने जनशक्ति कम भएका किसानले थ्रेसर बढी खोज्नुहुन्छ,' शेखले भने । धान भित्र्याउने याममा बिहान ५ बजेदेखि राति १२ बजेसम्म किसानको खेतमा पुगेर सेवा दिने गरेको उनले बताए । अहिले अन्य गाउँबाट समेत थ्रेसरको माग आउने गरेको छ । तर, किसानको खेतमै मेसिन पु¥याउनुपर्दा इन्धन र समय बढी खर्च हुने उनको भनाइ छ ।
नेपालगञ्ज–१९ सुईयाका किसान ध्रुवकुमार थापा क्षेत्रीले पनि एक दशकदेखि जोत्न ट्र्याक्टर र धान–गहुँ झार्न थ्रेसर प्रयोग गर्दै आएका छन् । यसअघि अर्मपर्म र खेतालाको भरमा खेती गर्दै आएका उनलाई अहिले प्रविधिले काम सहज बनाएको छ ।
'गाउँमा खेताला पाउनै मुस्किल छ, पाइहाले पनि दैनिक ६०० देखि एक हजारसम्म ज्याला माग्छन,' क्षेत्रीले भने, 'थ्रेसर लगाउँदा समयमै धान भित्र्याउन सजिलो भएको छ ।'
गाउँमा आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै जाँदा खेतीपातीमा श्रम र समयको बचत भएको छ । थ्रेसर र ट्र्याक्टरजस्ता उपकरण किसानका लागि सहज माध्यम बन्नुका साथै तिनको सञ्चालनबाट गाउँमै स्वरोजगारको अवसरसमेत सिर्जना भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार