नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिका–११, शान्तिनगरका अव्यवस्थित तथा सुकुमवासी परिवारहरूले दीर्घकालीन व्यवस्थापनको माग गर्दै आफूहरू बसेकै पुरानो स्थानमा फर्केर त्रिपाल टाँगेर बस्ने चेतावनी दिएका छन् ।
नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा खाली गराउने क्रममा केही समयअघि शान्तिनगरस्थित सुकुमवासी बस्ती हटाइएपछि प्रभावित परिवारहरू समस्यामा परेको भन्दै उनीहरूले राज्य र स्थानीय सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका हुन् ।
कोहलपुरस्थित क्रिकेट मैदानमा आयोजित भेलामा १२० जनाभन्दा बढी प्रभावित सुकुमवासी सहभागी भएका थिए । भेलाले वीरबहादुर परियारको संयोजकत्वमा आठ सदस्यीय सङ्घर्ष समिति गठन गर्दै आफ्ना मागहरू सम्बन्धित निकाय समक्ष राख्ने निर्णय गरेको छ ।
सङ्घर्ष समितिका संयोजक वीरबहादुर परियारले बस्ती हटाइएपछि वास्तविक सुकुमवासीमध्ये केहीलाई होल्डिङ सेन्टरमा राखिएको भए पनि धेरै परिवार अझै व्यवस्थापनविहीन अवस्थामा रहेको बताए ।
उनका अनुसार घरजग्गा भएका व्यक्तिहरू आफ्नो व्यवस्थापन गरेर अन्यत्र बसाइँ सरेका छन्, तर वास्तविक भूमिहीन र सुकुमवासी रहेका परिवार अहिले कठिन अवस्थामा जीवनयापन गर्न बाध्य छन् । 'न हाम्रो आफ्नै घरजग्गा छ, न त सबैलाई होल्डिङ सेन्टरमा राखिएको छ' उनले भने, 'हामीमध्ये धेरैजना अहिले महँगो भाडा तिरेर बस्न बाध्य छौं । आम्दानीको स्रोत कमजोर भएकाले दैनिक जीवन चलाउनै समस्या भइरहेको छ ।'
प्रभावित मध्येकी रूपा परियारले बस्ती हटाइएपछि आफ्नो परिवारको जीवन निकै कष्टकर बनेको बताइन् । 'पहिला आफ्नै झुपडी भए पनि बस्ने ठाउँ थियो । अहिले कोठा खोज्दै हिँड्नुपरेको छ' उनले भनिन, 'जसोतसो जस्तापाता राखेर बस्न खोज्दा पनि महँगो भाडा तिर्नुपरेको छ । कमाइ कम छ, खर्च धान्न सकिएको छैन ।'
त्यस्तै, कमला परियारले पनि राज्यले आफूहरूको बसोवासको व्यवस्था गर्न नसके अब पुरानै ठाउँमा फर्किनुको विकल्प नरहेको बताइन् । 'हामीलाई कि बस्ने व्यवस्था गरियोस्, नत्र घर भत्काइएको ठाउँमै त्रिपाल टाँगेर बस्न बाध्य हुन्छौं । हामीसँग अर्को विकल्प छैन ।'
सङ्घर्ष समितिले पहिलो चरणमा कोहलपुर नगरपालिका र बाँकेका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने निर्णय गरेको छ । छलफलबाट समस्या समाधानको ठोस पहल नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने समितिले जनाएको छ । संयोजक परियारका अनुसार प्रभावित परिवारहरू न्याय र पुनस्र्थापनाको माग गर्दै आवश्यक परे धर्ना, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने तयारी छ ।
सुकुमवासीहरूको भनाईअनुसार बस्ती हटाइएको लामो समय बितिसक्दा पनि स्थायी पुनःस्थापनाको प्रक्रिया अघि नबढ्दा उनीहरू असुरक्षित र अन्योलपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । प्रभावित परिवारहरूले बसोवासको सुनिश्चित व्यवस्था, पुनःस्थापना तथा जीवनयापनका आधारभूत अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार