Listen LIVE

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न बर्दियामा साइरन जडान

बर्दिया : मानव–हात्ती द्वन्द्व न्यूनीकरण तथा स्थानीय समुदायलाई समयमै सचेत गराउने उद्देश्यले बर्दियाको खाता जैविक मार्गमा पूर्वसूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको छ ।

उज्यालो नेपाल र ग्लोबल नेचर फन्डको आर्थिक सहयोगमा सामुदायिक वन क्षेत्रसँग जोडिएका विभिन्न बस्तीमा साइरन जडान गरिएको हो । वनक्षेत्रबाट हात्ती बस्तीतर्फ प्रवेश गर्न लाग्दा वा बस्तीनजिक पुगेको जानकारी प्राप्त हुनेबित्तिकै साइरन बजाएर स्थानीयलाई सतर्क गराइने व्यवस्था गरिएको छ ।

मधुवन नगरपालिका–१ का कैलाशी, टडुवा, पत्थरभोजी र दुर्गानगर, वडा नं. २ का रजवारा, खैरेनी, अमरपुर, कोठिया तथा सोनाहा, वडा नं. ३ का भक्रैया र थनौरा मुक्तकमैया बस्ती तथा वडा नं. ५ का शान्तिपुर, मदननगर र वरगाउँमा पूर्वसूचना प्रणाली जडान गरिएको छ । 

साइरनमार्फत समयमै सूचना प्रवाह हुँदा स्थानीयवासीले सुरक्षित स्थानमा जान पर्याप्त समय पाउने र हात्तीमाथि हुने प्रतिकारात्मक गतिविधि पनि कम हुने अपेक्षा गरिएको छ । यसले मानवीय तथा वन्यजन्तु दुवैतर्फको क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

उज्यालो नेपाल बर्दियाका प्रतिनिधि रमेश थापाले वन्यजन्तु र मानवबिच बढ्दो द्वन्द्वलाई कम गर्न समुदायमा पूर्वसूचना प्रणालीको आवश्यकता महसुस गरी साइरन जडान गरिएको बताए । उनका अनुसार खाता कोरिडोर क्षेत्रका बस्तीमा जङ्गली हात्तीले घरमा क्षति पु¥याउने, बाली नष्ट गर्ने तथा मानिसमाथि आक्रमण गर्ने घटना हरेक वर्ष दोहोरिने गरेका छन् । स्थानीय शरद राईले साइरन प्रणालीले हात्तीको गतिविधिबारे समयमै जानकारी प्राप्त हुने भएकाले जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

मधुवन नगरपालिका–३ का वडाध्यक्ष नारायण मल्लले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सकारात्मक पहल भएपनि दीर्घकालीन समाधानका लागि थप कार्यक्रम आवश्यक रहेको बताए । वनक्षेत्रसँग जोडिएका बस्तीमा सुरक्षित बसोबासको वातावरण सिर्जना गर्न राज्यले थप प्रभावकारी योजना ल्याउनुपर्ने उनको भनाइ छ ।

खाता कोरिडोर अन्तर्गतका करिब एक दर्जन गाउँ वन्यजन्तुको उच्च जोखिममा रहेका छन् । बर्दियामा हात्ती मात्र नभई चितुवालगायतका वन्यजन्तुको आक्रमण पनि चुनौतीका रूपमा रहेको छ । चालु आर्थिक वर्षमा मात्रै चितुवाको आक्रमणबाट ११ जनाले ज्यान गुमाइसकेका छन् । स्थानीयवासी र सरोकारवालाले साइरन प्रणालीले मानव–हात्ती द्वन्द्व व्यवस्थापनमा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया