नेपालगञ्ज : नेपाल पत्रकार महासङ्घ बाँके शाखाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन जिल्लाका सबै स्थानीय तहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
शाखा कार्यालयमा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले स्थानीय तहहरूले सञ्चार नीति निर्माण तथा कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने निश्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो । बैठकले हालसम्म सञ्चार नीति नबनाएका स्थानीय तहलाई आगामी आर्थिक वर्षभित्र नीति निर्माण गर्न तथा नीति बनाइसकेका स्थानीय तहलाई आवश्यक कानुनी व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले नेपाल पत्रकार महासङ्घ नवलपरासी पश्चिम शाखाका अध्यक्ष केशव पराजुलीको उपचार सहयोगार्थ आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको छ । गम्भीर प्रकृतिको रोगबाट पीडित पराजुलीको उपचारमा आर्थिक कठिनाइ उत्पन्न भएको भन्दै नवलपरासी पश्चिम शाखाले गरेको आग्रहअनुसार बाँके शाखाको तर्फबाट १० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरिएको महासङ्घ बाँकेका सचिव कृष्ण ओलीले बताए ।
त्यसैगरी, नेपाल पत्रकार महासङ्घले सरकारको गत चैत १८ गतेको सूचना तथा विज्ञापनसम्बन्धी निर्णयविरुद्ध थालेको दबाबमूलक आन्दोलन जारी रहेको सन्दर्भमा प्राप्त पछिल्लो सर्कुलरलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ । महासङ्घले उक्त सरकारी निर्णयलाई विभेदकारी र स्वेच्छाचारी भन्दै खारेजीको माग गर्दै आएको छ ।
साथै, प्रेसको संवैधानिक अधिकारको रक्षा, संसदबाट सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल तथा नागरिकको निर्बाध सूचना उपभोगको सुनिश्चितताका लागि केन्द्रले घोषणा गरेका थप दबाबमूलक आन्दोलनका कार्यक्रमलाई बाँके शाखाले पनि सक्रियरूपमा कार्यान्वयन गर्ने जनाइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार