Listen LIVE

चार दिनमा मात्र १६९ जना पर्यटक नेपालगञ्ज हुँदै मानसरोवर पुगे

नेपालगञ्ज : वर्षायाम शुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या सिमकोटमा बढ्न थालेको छ ।

सिजन शुरु भएपछि नेपालगञ्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर चीनको मानसरोवर कैलाश पर्वतको दर्शन गर्न पर्यटक जान शुरु भएको चार दिनमा मात्र १६९ जना पुगेका छन् ।

हुम्ला हुँदै कैलाश मानसरोवर दर्शनका लागि सिमकोट विमानस्थलमा १६९ तीर्थयात्री आएका सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार वैशाख ३० गतेदेखि आउन शुरु गरेका यात्रीमध्ये चार दिनमा भारतीय १४७ र अन्य देशका २२ यात्री सिमकोटमा आएका हुन् ।

प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै तीन उडान भरेको समिट एयरको जहाजबाट ४७ तीर्थयात्री सिमकोट पुगेका छन् । शनिबार आएका २३ जनामा कैलाश मानसरोवर जाने परमिट नभएका कारण सिमकोटमै बस्नुपरेको हो ।

शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण परमिट आउन ढिलाइ भएपछि २३ भारतीय तीर्थयात्री सिमकोटमै बस्ने भएका छन् ।

मानसरोवर कैलाशको दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको आवागमन शुरु भएको चार दिनको सङ्ख्या हेर्दा सो सङ्ख्या बढ्ने विश्वास गरिएको छ ।

विसं २०७२ को महाभूकम्पपछि हिल्सा नाकाबाट भारतीय पर्यटक आउन शुरु भएको थियो । बिचमा कोरोना अवधिमा हिल्सानाका बन्द हुँदा पर्यटक आउन बन्द भएको थियो ।

गत वर्षदेखि चीनले भारतीय पर्यटकलाई हिल्साबाट मानसरोवर कैलाशको यात्रा गर्न अनुमति दिएपछि गत वर्ष चार महिनामा ६ हजार ५०० भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिक यात्रा गरेका थिए ।

प्रतिक्रिया