Listen LIVE

२० किमि प्रतिघण्टा गति सीमा कायम गर्न माग

नेपालगञ्ज : कोहलपुर नगर क्षेत्रमा बढ्दो सवारी दुर्घटनाको जोखिम न्यूनीकरण तथा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै परिवर्तनशील युवा क्लबले सडकमा अधिकतम गति सीमा २० किलोमिटर प्रतिघण्टा कायम गर्न सुरक्षा निकायसँग माग गरेको छ ।

क्लबले जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेका प्रहरी निरीक्षक कनकबहादुर शाहीलाई औपचारिक निवेदन पत्र बुझाउँदै कोहलपुरको न्यू रोडदेखि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरको पूर्वी गेटसम्म, एनटिभी रोडलगायत कोहलपुरका टाउन प्लानिङ क्षेत्रका सबै सडक क्षेत्रमा २० किलोमिटर प्रतिघण्टाको गति सीमा निर्धारण गर्न माग गरेको हो ।

क्लबका अध्यक्ष आदित्य बस्यालले बजार क्षेत्रमा समेत तीव्र गतिमा सवारी साधन चलाउने र त्यस्ता सवारी साधनलाई कुनै कारबाही नहुने हुँदा पछिल्लो समयमा कोहलपुर बजार क्षेत्रमा दुर्घटना बढ्दै गएकोले गति सीमा निर्धारण गर्न माग गरिएको बताए । 

उनले अधिकांश दुर्घटना तीव्र गतिकै कारण हुने गरेको प्रहरीकै विश्लेषण रहेकोले पनि गति नियन्त्रण अतिआवश्यक भएको जनाए । युवाहरुको निवेदन पत्र बुझ्दै जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक शाहीले उक्त मागलाई कार्यान्वयनमा ल्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको क्लबले जनाएको छ ।

क्लबका अध्यक्ष आदित्य बस्याल, उपाध्यक्ष प्रशान्त खत्री तथा सल्लाहकार विक्रम ओली लगायतले संयुक्त रूपमा यसबारे प्रहरीलाई जानकारी दिँदै नागरिकको जीवनरक्षा र सडक दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायले गम्भीरतापूर्वक कदम चाल्नुपर्ने माग गरे ।  

क्लबले नगरभित्रका सडकहरूमा गति सीमा उल्लेख गरिएका संकेत बोर्ड राख्न, नियमित ट्राफिक निगरानी गर्न तथा तोकिएको सीमाभन्दा तीव्र गतिमा सवारी चलाउनेमाथि कडाइका साथ नियम कार्यान्वयन गर्नसमेत आग्रह गरेको छ ।

क्लबका अध्यक्ष बस्यालले भने, 'सडक सुरक्षित बनाउने जिम्मेवारी हामी सबैको हो । दुर्घटना भएपछि पछुताउनुभन्दा दुर्घटना हुनुअघि नै सावधानी अपनाउनु आवश्यक छ ।'

उता,  युवाहरुले अघि सारेको माग जायज नै रहेको जनाउँदै जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरले सो बारेमा आवश्यक व्यवस्था मिलाउने जनाएको छ ।

प्रतिक्रिया