दाङ : पानी परेपछि जिल्लाका अधिकांश ठाउँमा किसान धान रोप्न व्यस्त छन् । मानो रोपेर मुरी उब्जाउने तयारीमा किसान जुटेपनि मलको अभावले भने समस्या गरेको छ ।
मल अभावकै कारण खेतमा हुनुपर्ने कतिपय किसान भने मलका लागि कहिले कृषि सामग्री कम्पनी त कहिले साल्ट ट्रेडिङ कम्पनीको कार्यालय आउनुपर्ने बाध्यता छ ।
धान रोपाइँको तयारी भए पनि मल नपाउँदा ढिला भइरहेको घोराही उपमहानगरपालिका–१७ निवासी रामप्रकाश चौधरी बताउँछन् । बर्खे खेतीका लागि कृषि सामग्री कम्पनीमा मल ल्याउन आएका चौधरीले समयमै मल नआउँदा खेती गर्ने समयमा मल खोज्दै हिँड्नुपर्ने बाध्यता रहेको बताए । बिहानभरी खेत जोतेर दिउँसो मलका लागि घोराही आएको बताउँदै किसान चौधरीले भने, ‘‘समयमै मल पाएको भए अहिले धान रोपाइँ सकिन्थ्यो तर मल नहुँदा अहिले पनि खोज्न हिँड्नुपर्ने बाध्यता छ ।’’ सहकारीमार्फत गाउँमा मल वितरण हुने भए पनि गाउँमा मलका लागि पालो नै नपाउँदा खेती गर्न समस्या हुने गरेको बताउँछन् ।
धान खेती सुरु भए पनि पर्याप्त मल नहुँदा रोपाइँमा समस्या भएको घोराही उपमहानगरपालिका–१४ झिंगौरा निवासी बिहानी चौधरी बताउनुहुन्छ । पटक पटक सहकारीको कार्यालयमा गए पनि वर्षेखेतीका लागि आवश्यक मल प्राप्त गर्न नसकेको भन्दै उनले भने, ‘‘रोपाइँ गर्ने बेला भइसक्यो, दुई बोरा मात्र मल छ, यो मलले सबै खेतीलाई पुग्र्दैन ।’’ घोराही उपमहानगरपालिका १० स्थित महेश्वरी महिला साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हिरा पुनले आपूर्ति गर्ने संस्थाबाट पर्याप्त मात्रामा मल नदिइँदा गाउँमा किसानलाई मल पुर्याउन नसकिएको बताउँछन् ।
उनका अनुसार खेतीको समय भइसक्दा पनि धेरै किसानले पर्याप्त मल प्राप्त गर्न नसकेको हो । तर कृषि सामग्रीको घोराही शाखाका प्रमुख टोपाराम गौतम भने जिल्लामा मल आइरहेकाले समस्या नभएको बताउँछन् ।
किसानको माग अनुसार सहकारीले मल लागिरहेको भन्दै शाखा प्रमुख गौतमले भने, ‘‘किसानले मल नपाइको गुनासो गर्नुहुन्छ तर गतवर्षको तुलनामा यो वर्ष बढी मल गइसकेको छ ।’’ गतवर्षको तुलनामा यो वर्ष १० प्रतिशत बढी रासायनिक मल खपत भइसकेको बताँछन् ।
हिउँद र बर्खामा गरी दुई पटक मल आपूर्ति गर्ने गरिएको भन्दै बर्खाका लागि आएको मल कतिपय किसानले वर्षभरिलाई एकै पटक सञ्चित गरिदिँदा अन्य किसानले जिल्लामा नपाउने समस्या रहेको बताउँछन् । सहकारीबाट पहुँचका आधारमा कतिपय व्यक्तिले राख्ने गरेको भन्दै उनले भने, ‘‘बर्खे खेतीका लागि ल्याएको मल कतिपय किसानले पहुँचका आधारमा आवश्यकताभन्दा बढी लगेर हिउँदे खेतीसम्मकै लागि सञ्चित गर्छन् । यसले पनि दाङमा समस्या देखिने गरेको छ । यसलाई नियन्त्रण गर्न सहकारीबाट कसरी मल वितरण भइरहेको छ अनुगमन हुन आवश्यक छ ।’’
कृषि सामग्री कम्पनी लिमिटेडबाट घोराही, तुलसीपुर र लमही शाखाबाट बुधबारसम्म ११ हजार दुई सय ९६ मेट्रिक टन रासायनिक मल बिक्री भइसकेको छ । जस अनुसार युरिया छ हजार सात सय १५ मेट्रिक टन, डिएसपी चार हजार दुई सय ५० मेट्रिक टन, पोटास तीन सय २९ मेट्रिक टन रासायनिक मल बिक्री भएको छ ।
जसमा कृषि सामग्री कम्पनी लिमिटेड घोराहीबाट दुई हजार पाँच सय १९ मेट्रिक टन युरिया, एक हजार पाँच सय पाँच मेट्रिक टन डिएसपी र एक सय ३३ दशमलव दुई मेट्रिक टन पोटास बिक्री भएको छ । तुलसीपुर शाखाबाट दुई हजार चार सय ४७ मेट्रिक टन युरिया, एक हजार आठ सय ४७ दशमलव ९५० मेट्रिक टन डिएसपी, ७२ दशमलव पाँच मेट्रिक टन पोटास, लमही शाखाबाट एक हजार सात सय ४९ दशमलव २५० मेट्रिक टन युरिया, आठ सय ४७ दशमलव आठ सय ५० मेट्रिकटन डिएसपी र एक सय २४ दशमलव दुई मेट्रिक टन पोटास बिक्री भएको तथ्याङ्क छ ।
त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत युरिया ६५ हजार पाँच सय ८७ वोरा युरिया डिएसपी ५६ हजार तीन सय सात बोरा र पोटास एक हजार आठ सय ८७ बोरा बिक्री भएको छ । अहिले पनि मल वितरणको कार्य जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिए ।
जिल्लामा ६५ हजार हेक्टर क्षेत्रफलमा कृषि हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार यो वर्ष धान खेती ३७ हजार दुई सय २० हेक्टरमा हुने अनुमान छ । कार्यालयका अनुसार जिल्लामा वार्षिक कम्तीमा १७ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । १० हजार मेट्रिक टन युरिया र सात हजार मेट्रिक टन डीएपी खपत हुने गरेको विगतको तथ्याङ्क छ । तर किसानले धेरै उब्जनी हुने सोचेर अत्यधिक मल प्रयोग गर्ने प्रवृत्ति बढेको हुँदा रासायनिक मलको माग बढ्दै गएको उनी बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार