पर्सा : थोरै परिश्रममा धेरै आम्दानी लिन सकिने भएपछि पर्साका ग्रामीण क्षेत्रका किसानहरु बदाम खेतीतर्फ आकर्षित भएका छन् ।
नगदे बालीको रुपमा पर्साका ग्रामीण क्षेत्रका किसानहरुले बदाम खेती लगाउन थालेका छन् । ग्रामीण क्षेत्रको महादेवपट्टी, सुवर्णपुर, भिस्वा, पिडारी गुठी, लङ्गडी, सम्भौता लगायतका क्षेत्रमा बदाम खेती गरिएको छ ।
विगत केही वर्षदेखि वातावरण परिवर्तनसँगै बढ्दो वन विनाशका कारण खोलानाला सुक्दै गएर सुख्खाको मारमा परेका किसानहरुले विभिन्न बाली लगाउन थालेका छन् । जसमध्ये बदाम खेती एक प्रमुख खेती बन्दै गएको छ ।
अहिले महादेवपट्टीमा मात्रै करिब ३० बिघा भन्दा बढी जमिनमा बदाम खेती गरिएको छ । सुख्खा जमिन पानी नजम्ने बलौटे माटोमा बदाम खेतीको राम्रो उब्जनी हुने गरेको महादेवपट्टीका किसान प्रेम दासले बताए ।
बदाम खेतीबाट प्रति कठ्ठा २० देखि ३० हजारसम्म आम्दानी गर्ने गरेको दासले बताए । एउटा खेतमा एक बाली धान र दुई बाली बदाम निकाल्ने गरेको उनको भनाइ छ ।
बदाम खेती गर्दा मलको आवश्यकता नपर्ने र खेतमा उम्रिएका झारपातलाई नै कुहाएर राम्रो कम्पोस्ट मल तयारी गरी प्रयोग गर्ने गरेको अर्का किसान हेमन दहितले जानकारी दिए ।
बदाम खेतीमा किरा पठ्याङ्ग्रा समेत कम लाग्ने हुँदा किटनाशक औषधि समेत छर्न आवश्यक नहुने भएकाले न्यून खर्चमा ठुलो आम्दानी गर्ने गरेको किसानहरुले जनाएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार