जुम्ला : पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाको स्याउ बाटोमै रोकिएको छ । जुम्लाबाट स्याउ बोकेर आएका ४० देखि ४२ वटा गाडीमा रहेको झन्डै साढे दुई करोड रुपैयाँ बराबरको स्याउ बाटोमै रोकिएको हो ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार ४० देखि ४२ वटा गाडीमा रहेको स्याउ बाटोमै रोकिएको छ । उनका अनुसार सेरावाडामा १४–१५ वटा, भिग्ममा सात वटा र हुल्ममा २० वटा स्याउ बोकेका गाडी सडक अवरुद्ध हुँदा रोकिएका छन् । ती गाडीमा ढुवानी गरिएको स्याउको मूल्य करिब दुई करोड ५० लाख रुपैयाँ बराबर रहेको उनले बताए ।
किसान दीपकनाथ योगीले स्याउ बाटोमै रोकिँदा कुहिने डर भएको बताए । आफूले पनि किसानका स्याउ लिएर आएको र पहिरोका कारण बाटो अवरुद्ध हुँदा स्याउ बोकेको गाडी नाग्ममा रोकिएको उनले बताए ।
'वर्षभरि स्याउ उत्पादन तथा सङ्कलन गरेर बजारमा लैजाने क्रममा दुई–तीन दिन बाटोमा रोकिएपछि कुहिने डर भएको छ,' उनले भने ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार