Listen LIVE

नेपालगञ्जमा प्लाष्टिकका मालाको खुला बिक्री

नेपालगञ्ज : देशका धेरैजसो पालिकामा प्लास्टिकका मालाको बिक्री वितरणमा प्रतिबन्ध लगाइएपनि नेपालगञ्जमा प्रतिबन्ध नलगाउँदा जताततै खुला रुपमा कृत्रिम फूल मालाको बिक्री वितरण भइरहेको छ । 

भारतीय फूललाई विस्थापित गर्ने उद्देश्यले बाँकेमा धेरै ठाउँमा सयपत्री फूलको ठुलो मात्रामा खेती गरिएपनि भारतबाट ल्याइएका कृत्रिम (प्लाष्टिक) फूल मालाको बिक्री भने खुला रुपमा भइरहेको पाइएको हो । 

भारतीय सीमानासँग जोडिएको नेपालगञ्जका धेरै ठाउँमा अहिले कृत्रिम फूल माला बिक्रिका लागि खुला रुपमा राखिएका छन् । उपमहानगरको सदरलाइनमा लागेको दिपावली मेलामा प्राय हरेकजसो पसलमा प्लाष्टिकका माला बिक्री भइरहेका छन् भने बिस्कोरियन टोलमा रहेका पसलहरुमा थोकमा ठुलो परिमाणमा कृत्रिम फूल मालाको बिक्री भइरहेको छ । 

प्लास्टिकको माला देखिँदा आकर्षक भए पनि यस्ता माला लगाउँदा स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्ने ज्ञान धेरैलाई नभएकै कारणले पनि त्यस्ता मालाको बिक्री भइरहेको नेपालगञ्जका हरित अभियन्ता हेमन्तराज काफ्लेले बताए । 

उनले यस पटक जिल्लामा सयपत्री फूलको उत्पादन उल्लेख्य मात्रामा भएकोले फूलको माग पुरा हुने हुँदा प्लास्टिकको माला प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह पनि गरे । 

स्वदेशी फूलबाटै फूलमालाको माग धान्ने उद्देश्यले फूलखेतीमा लागेका स्थानीय व्यवसायी सुभाषसँग शाहले भारतीय फूलको आयात यस वर्ष धेरै घटेपनि प्लास्टिकको मालाको आयात भने भइरहेको पाइएको बताए । उनले प्लाष्टिकका मालाका कारण सयपत्री फूलको विक्रि पनि प्रभावित भएको जनाए । 

भारतबाट आउने फूल सस्तो र गुणस्तरहीन भएझैँ प्लाष्टिकको माला पनि स्वास्थ्यका लागि निकै हानिकारक हुने गरेकोले त्यस्ता माला प्रयोग नगर्न स्थानीय फूल व्यवसायीहरुले अनुरोध गरेका छन् । 

कोहलपुर १३ का फूल व्यवसायी जय बस्नेतले प्लाष्टिकको मालाको आयात र विक्रिमा प्रतिबन्ध लगाउनुपर्ने माग गरे ।

प्रतिक्रिया