लमजुङ : लमजुङको घलेगाउँ र भुजुङबाट सुरु गरिएको चियाखेती जिल्लाका अन्य क्षेत्रमा पनि फैलिन थालेको छ । क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे र मस्र्याङ्दी गाउँपालिकाको घनपोखरा क्षेत्रमा लगाइएको चिया खेतीले आन्तरिक पर्यटकसमेत आकर्षित गरिरहेको छ ।
विश्वमा नै उत्कृष्ट चिया उत्पादन गर्ने पूर्वी नेपालको सिको गर्दै लमजुङमा चिया खेती सुरुवात गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पहलमा २०५५ सालदेखि चिया खेती शुरुवात गरिएको हो । अहिले क्ब्होँलासोथार गाउँपालिका, मस्र्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकाका विभिन्न गाउँहरुमा चिया खेती विस्तार गरिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका भजुङका प्रमुख प्रमोद रेग्मीका अनुसार आयोजना क्षेत्र भित्रका नागरिकलाई आयआर्जन र स्वरोजगार बनाउन थालिएको चिया खेती पर्यटक घुम्ने केन्द्र बनेको छ । पूर्वको जस्तो भु–बनोट भएकाले यहाँ चिया खेती फष्टाउँदै गएको छ । एक्याप क्षेत्रभित्र भुजुङमा तीनसय रोपनी, पसागाउँमा दुईसय र घलेगाउँमा दुईसय रोपनी जमिनमा चिया खेति गरिँदै आएको छ ।
घलेगाउँमा गरिएको चिया खेतीले पर्यटक आकर्षित गर्ने गरेको घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले बताए । यहाँ तक्दा ७८ र गुम्दा नामक चियाको खेति गरिएको छ । समुन्द्री सतहदेखि दुई हजार मीटरको उचाइमा लगाइएको चिया पर्यटकलाई खुवाउनुको साथै विदेशसम्म पुग्ने गरेको छ ।
सामुहिकरुपमा गरिएको चिया खेतिबाट आम्दानी पनि हुन थालेको छ । गाउँ आउने आन्तरिक पर्यटकले चिया किनेर लैजाने गरेका छन् । सुरुमा जीवनस्तर उकास्न गरिएको चियाखेतिले हिजोआज आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत भित्राउन सहयोग पुगेपछि गाउँलेले चियाखेती थप विस्तार गरेका छन् । पुस र माघ बाहेक १५–१५ दिनको फरकमा टिप्दै आएको चियाको मुनाहरु अहिले हप्ता दिन नबित्दै टिप्ने गरेको स्थानीय बताउँछन् । भुजुङ र घलेगाउँमा चिया प्रशोधन केन्द्र स्थापना गरिएको छ । चियाको ग्रेडिङ र चाल्ने मेसिन पनि राखिएको छ ।
यहाँको चिया सदरमुकाम बेसीशहर, पोखरा, चितवन, काठमाडौंदेखि बिदेशी मुलुकमा रहेका आफन्तजनहरुलाई कोसेलीको रुपमा समेत पठाउने गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार