Listen LIVE

कृषक पाठशालाका कारण कृषिमा आकर्षण

दैलेख : दैलेखको दुल्लु नगरपालिका –१ का पूर्णबहादुर खड्काको मुख्य पेशा कृषि हो । जीवनका पाँच दशक कृषि कर्ममा बिताएका उनले पछिल्लो सयम उत्पादनमा आएको कमीका कारण चिन्तित थिए । 

जति मेहेनत गरे पनि उत्पादनमा कमी आएपछि कृषि कर्म छोड्न लाग्नुभएका उनलाई पछिल्लो समय सञ्चालन भएको जलबायुमैत्री कृषक पाठशालाले उनलाई पुनः कृषिमै राम्रोे आम्दानी गर्न सकिन्छ भन्ने परेको छ । 

खड्काले भने, “हामीले गर्ने परम्परागत कृषि जलबायु परिवर्तनका कारण उत्पादन राम्रो नहुने रहेछ । हामीले जलबायुमैत्री कृषि खेती गर्न सकेमा राम्रो आम्दानी दिने भएपछि आफुले अहिले जलबायुमैत्री कृषि खेती गरिरहेको बताए । 

हामीले समय अनुकूल खेती मौसमी, बेमौसमी खेती गरेर पनि राम्रो आम्दानी गर्न सक्दा रहेछौं । विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले दुल्लु नगरपालिकामा कृषकका लागि सञ्चालन भएको ६ महिने कृषक पाठशालामा सहभागी हुँदै आएपछि उनले आफूले गर्ने कृषि खेतीमा समेत परिवर्तन आएको बताए । 

उनले जस्तै दुल्लु नगरपालिका –१ का खम्बीरा खड्काले पनि पछिल्लो समय जलबायुमैत्री कृषि खेती प्रणाली सुरु गरेपछि राम्रो आम्दानी लिन सफल भएको बताए । उनले भने, “पछिल्लो समय छिटो पानी नपर्ने समस्याले उत्पादन घट्दै गएको र त्यसका लागि पानीका मुहान संरक्षण गरी पोखरी समेत निर्माण गरिएपछि अहिले पानी जम्मा गरेर समेत तरकारी उत्पादन गर्न सफल भएका छौँ । 

कृषक पाठशाला कृषकका लागि महत्वपूर्ण रहेछ जसले कृषि खेती कसरी गर्ने, रोगकिरा कसरी नियन्त्रण गर्ने, सिँचाइ कसरी गर्ने भन्ने सिकाइले अहिले दुल्लु नगरपालिका –१ का कृषकलाई राम्रो जानकारी भएपछि कृषकले राम्रो आम्दानी लिन सफल भएको खड्काको भनाइ छ । 

कृषकलाई व्यावसायिक कृषक बनाउनका लागि दुल्लु नगरपालिका–१ देउतीचौरमा डिसीए नेपालको साझेदारीमा सोसेक नेपालद्वारा सञ्चालित ग्रिन कर्णाली परियोजनाको सहयोग र दुल्लु नगरपालिकाको समन्वयमा जलवायुमैत्री कृषक पाठशाला सञ्चालन गरिएको कृषि प्राबिधिक हिमेन्द्र माझीले बताए । 

उनले पाठशालाबाट कृषकले प्राङगारिक कृषिउपज उत्पादन गर्ने र रासायनिक विषादीको प्रयोग घटाउने विधि, माटोको संरक्षण, मलजल, गोडमेल, किरा नियन्त्रणमा जैविक विधिको प्रयोग, बीउ बाली छनोट, जैविक मलको प्रयोग र माटोको उर्बरा शक्ति वृृद्धि, रैथाने बाली संरक्षण लगायत विषयमा किसानबिच नियमित छलफल हुने गरेको बताए ।

प्रतिक्रिया