बाजुरा : बाजुरामा उत्पादित अग्र्यानिक र निकै स्वादिला स्याउ अब जिल्ला बाहिर पनि खान मिल्ने भएको छ।
कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदानमा यस बर्ष पहिलो चरणमा स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकाबाट करिब ५० टन अर्थात् ५ सय क्विन्टल स्याउ जिल्ला बाहिर निर्यात गरिएको हो।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार दुई ट्रक स्याउ धनगढी र तीन ट्रक स्याउ सुर्खेत पु¥याई बिक्री वितरण कार्य सुरु भइसकेको छ। ढुवानी कार्य कर्णाली करिडोरको सडकमार्फत गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक विनियोजित बजेट अन्तर्गत कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान कार्यक्रममार्फत यो कार्य सम्भव भएको हो। स्वामिकार्तिक खापर गाउँपालिका–१ का कृषक प्रेम कटेल र दानबहादुर रावलले गठन गरेको कृषि समूहमार्फत स्याउको ढुवानी तथा बजार व्यवस्थापन कार्य सञ्चालन भइरहेको छ।
कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसी सहानीका अनुसार स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका पछि बुढिनन्दा नगरपालिका पाण्डुसैनका स्याउ पनि ढुवानी अनुदान सहित जिल्ला बाहिर पठाउने तयारी भइरहेको छ। “पाण्डुसैनका स्याउ अहिले ढुवानी प्रक्रियामा छन्,” उनले बताए।
यसअघि वर्षा सुरु भएपछि अवरुद्ध बनेको मार्तडी–कोल्टी सडकका कारण स्याउ ढुवानीमा समस्या भएको थियो। तर अहिले सडक सञ्चालनमा आएपछि र कर्णाली करिडोर सञ्चालनमै रहेकाले ढुवानी कार्य सहज बनेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
केही ढिला भएपनि ढुवानी सुरु भएपछि स्थानीय कृषकहरू निकै उत्साहित भएका छन्। “केही समय अघि स्याउ बारीमै कुहिन्छ कि भन्ने डर थियो, अहिले अनुदानसहित जिल्ला बाहिर पठाउन पाउँदा निकै खुशी भएका छौँ ,स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित जोरु फलफूल तथा जडीबुटी कृषक समूहका प्रेमबहादुर कटेलले बताए।
उनका अनुसार ढुवानी र बजार व्यवस्थापनको सुविधा पाएपछि कृषकहरू फलफूल तथा जडीबुटी उत्पादनमा अझ प्रोत्साहित भएका छन्।
कृषि ज्ञान केन्द्र बाजुराले केही वर्षदेखि कृषकको बारीबाटै ढुवानी अनुदानसहित स्याउ जिल्ला बाहिर पठाउँदै आएको छ। अत्यन्त अग्र्यानिक र स्वादिलो मानिने बाजुराको स्याउ स्थानीय बजारमा खपत नहुँदा देशका विभिन्न सहरहरूमा बजारीकरणका लागि पठाइँदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार