Listen LIVE

सिँचाइ सुविधा पुगेपछि बाँकेका किसान हर्षित

नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका–८ बालापुरमा लिफ्ट सिँचाइमार्फत खेतबारीमा पानी पुग्न थालेपछि यहाँका किसानको जीवनशैलीमा परिवर्तन आएको छ । केही वर्षअघिसम्म आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले बाह्रै महिना  खेतबारीमा व्यस्त देखिन्छन् ।  

निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजना अन्तर्गत पश्चिम मूल नहरबाट लिफ्ट प्रणालीमार्फत सतही सिँचाइ सुविधा पुगेपछि बालापुरका किसान बेमौसमी तथा व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् ।

आयोजनाको पश्चिम मूल नहर र बाँके राष्ट्रिय निकुञ्ज बीचमा पर्ने बालापुर क्षेत्रमा पहिले दुई बाली लगाउनसमेत कठिन हुने अवस्था थियो तर, अहिले भने गाउँभरिका खेतबारी वर्षभरि हरियाली देखिन थालेको बालापुर लिफ्ट सिँचाइ कृषक समूहका अध्यक्ष लोकबहादुर खत्रीले बताए । उनले सिँचाइ सुविधा किसानका लागि वरदान सावित भएको जनाउँदै अहिले खेतीसंगै उत्पादन पनि वृद्धि भएको दाबी गरे । 

उनले भने–'पहिला खेतीबाट खान पनि पुग्दैनथ्यो, अहिले भने खान पुगेर बचतसमेत गर्न सकेका छौँ । दुई वर्षदेखि लिफ्ट सिँचाइको पानी आउन थालेपछि पहिले बाँझो रहने खेत अहिले सधैँ हरियो हुन्छ ।'

स्थानीय किसान उमा देवकोटाले आकाशे पानीको भरमा खेती गर्दा उत्पादनले परिवार धान्न कठिन हुने गरेको स्मरण गर्दै अहिले लिफ्ट सिँचाइका कारण तीन बाली उत्पादन गर्न सकिने अवस्था बनेको बताइन् ।

उनले किसानका खेतसम्म पानी वितरणका लागि थप 'प्वाइन्ट' व्यवस्थापन गरिदिन आयोजनासँग आग्रह पनि गरिन् ।

किसान देवकोटाले भनिन् –'सिक्टा नहरको पानी हाम्रो लागि होइन जस्तो लाग्थ्यो, तर हामी गलत रहेछौँ । आयोजनाले लिफ्ट प्रविधिबाट भए पनि खेतसम्म पानी पु¥यायो ।'

सिक्टा सिँचाइ आयोजनाका संस्थागत विकास शाखाका अर्जुन न्यौपानेका अनुसार सतही सिँचाइ पुग्न नसक्ने क्षेत्रमा लिफ्ट प्रविधिमार्फत पानी पु¥याउने काम भइरहेको छ ।

उनले पश्चिम र पूर्वी नहर आसपासका विभिन्न स्थानमा लिफ्ट प्रणाली विस्तार भइरहेको जानकारी दिइन् ।

आयोजनाका अनुसार सिक्टा सिँचाइ आयोजनाबाट करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ । हालसम्म २२ हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भइसकेको छ ।

सतही सिँचाइ नपुग्ने १६ स्थानमा लिफ्ट प्रणालीमार्फत पानी पु¥याउने योजनाअनुसार पश्चिम नहर क्षेत्रमा चार वटा आयोजना सञ्चालनमा आइसकेका छन् भने पूर्वी नहरमा ११ र पश्चिम नहरमा एक स्थानमा निर्माण कार्य जारी रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया