Listen LIVE

प्रविधिको प्रयोगले कृषि कार्यमा सहजता

दाङ : कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । बाली लगाउँदादेखि काटेर घरमा भित्र्याउन सहजता हुने भएपछि पछिल्लो समय दाङमा कृषि व्यवसायमा प्रविधिको प्रयोग बढ्दै गएको हो । 

धान काट्ने प्रविधिको प्रयोगले बाली काट्दा लाग्ने समय, श्रम र पैसाको बचतसँगै सहजता हुने भएपछि प्रविधिको प्रयोग बढ्दैगएको गढवा गाउँपालिका–६ वसन्तपुर निवासी किसान वंशराज यादव बताउँछन् । मानिस लगाएर धान काट्दा समय धेरै लाग्नुका साथै दुःख बढी हुने भए पनि प्रविधिको सहयोगले छोटो समयमै धेरै काम गर्न सकिने बताउँछन् । 

गाउँघरमा धान काट्नेदेखि दाउनका लागि मानिसहरु नपाइने भएकाले आफुले धान काट्नेदेखि खेतवारी जोट्नका पावर ट्रेलर किनेको कृषि व्यवसाय गरिरहेको भन्दै उनले भने, ‘गाउँमा काम गर्ने मानिस नहुँदा कृषि व्यवसाय गर्न समस्या भइरहेको थियो । तर अहिले प्रविधिको प्रयोगले सहज भएको छ । खेत जोत्न, बाली काट्नदेखि घरमा भित्र्याउन सहज भएको छ ।’ 

धान काट्ने मेसिन रिपरको प्रयोगले आफ्नो मात्र नभएर गाउँघरमा अन्य किसानको समेत धान काट्ने गरेको र त्यसबाट आम्दानी हुनेगरेको उहाँले बताउनुभयो । धान काट्न मेसिन भित्रिएपछि किसानलाई छिटो र सजिलो भएको भन्दै उनले भने, ‘सबै किसानलाई अहिले धान काट्ने चटारो छ । धान पाकेर पहेलै भएको समयमा किसानलाई धान भित्र्याउन सहयोग पुगेको छ ।’ 

गाउँघरमा खेतवारी जोत्नदेखि धन दाउनलाई गोरु तथा राँगा पाल्ने प्रचलन हराउँदै गएपछि आफुले पनि टेक्टर र थ्रेसरको प्रयोग गरेर खेतवारी जोत्नेदेखि दाउनेसम्मको काम गर्ने गरेको घोराही उपमहानगरपालिका–५ धर्ना निवासी सन्तोष थापाले बताए ।  

कृषिमा प्रविधिको प्रयोगले किसानलाई सहजतासँगै उत्पादनमा वृद्धि गर्न समेत सहयोग पुगेको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी एवं कृषि अर्थविज्ञ पृथ्वीराज लामिछाने बताए । उनका अनुसार पछिल्लो समय जिल्लामा धेरैजसो किसानले विभिन्न उपकरण र यन्त्र प्रयोग गर्ने गरेर कृषि कार्य गरिरहेका छन् ।

प्रतिक्रिया