नेपालगञ्ज : बाँकेस्थित सिक्टा सिँचाइ आयोजनाले हाइड्रोपावरको अनुभव भएका कम्पनीलाई समेटेर प्राविधिक मूल्यांकन गरेको छ। आयोजनाले सिँचाइ पूर्वाधार बनाएका कम्पनीले मात्रै आवेदन दिन पाउने गरी सार्वजनिक गरेको टेन्डर विवादमा परेपछि जलविद्युत् आयोजना निर्माणको अनुभव भएका कम्पनीलाई पनि समेटेको हो। बिहीबार सार्वजनिक भएको सूचनाअनुसार सिक्टाको साढे २ अर्बको ठेक्कामा प्याकेज १ मा ५ कम्पनी छनोट भएका छन्।
त्यस्तै प्याकेज ५ को डुडुवा शाखाअन्तर्गत खाजुरा, मानपुरका सहायक सिक्टा आयोजनातर्फ ५ कम्पनी प्राविधिक मूल्यांकनमा छनोट भएका छन्। प्याकेज ५ मा अर्घाखाँची इन्जिनियरिङ एन्ड बिल्डर्स कम्पनी प्रा.लि, बन्दन भवगति निर्माण सेवा प्रा.लि, हाई हिमालय–आरएससी जेभी, कुमार श्रेष्ठ निर्माण सेवा, रसुवा कन्स्ट्रक्सन कम्पनी रहेका छन्।
सिक्टाकै प्याकेज नम्बर ६ डुडुवा शाखाका संरचना निर्माणमा हाई हिमालयन हाइड्रोपावर कन्स्ट्रक्सन, अर्घाखाँची इन्जिनियर्स एन्ड बिल्डर्स कम्पनी, बन्दन भगवती निर्माण सेवा, कुमार श्रेष्ठ निर्माण सेवा, रामेछाप शेर्पा कन्स्ट्रक्सन र रसुवा कन्स्ट्रक्सन कम्पनी प्राविधिक रुपमा छनोट भएका छन्। सिक्टा सिँचाइ आयोजनामा सहभागी शर्मा एन्ड कम्पनी, निर्माण कम्पनी लामा कन्स्ट्रक्सन, माउन्टेन इन्फ्रा, स्वच्छन्द निर्माण सेवा, लुम्बिनी निर्माण सेवा लगायतका कम्पनी प्राविधिक मूल्यांकनबाटै बाहिरिएका छन्।
निर्माण व्यवसायी महासंघले सिक्टा सिँचाइ आयोजनाले ‘४–५ कम्पनी मात्रै सहभागी हुन पाउने गरी कार्टेलिङ गरेको’ आरोपमा सार्वजनिक खरिद कार्यालयमा उजुरी हालेको थियो। साथै निर्माण व्यावसायीहरूले चार वटा निश्चित कम्पनीलाई ठेक्का दिलाउन उर्जामन्त्रालयमा सेटिङ मिलाएर टेण्डर खोलिएको आरोप लगाएका थिए।
‘हामीले हाइड्रोकोे अनुभव भएका कम्पनीलाई पनि नहर निर्माणमा सहभागी गराउनुपर्छ भनेका थियौँ’, निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, ‘प्राविधिक मूल्यांकन छनोट कम्पनीको नाम हेर्दा हाइड्रो आयोजना निर्माण गरेका कम्पनी समावेश भएका छन्। यसमा कार्टेलिङ हुन पाएन।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयले सिक्टा सिँचाइ आयोजनालाई गुनासो सम्बोधन गर्न पत्र नै काटेका थिए।
‘सुरुमा हाइड्रोको अनुभव भएका कम्पनीलाई केही अप्ठ्यारो भएको महशुसपछि टेन्डर डकुमेन्ट संशोधन गरेका थियौँ’, सिक्टा सिँचाइ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहले भने, ‘प्राविधिक मूल्यांकनमा हाइड्रोको क्यानलमा कामको अनुभव गरेका कम्पनी छनोटमा परेका छन्।’
सिक्टा सिँचाइ आयोजनाको आर्थिक प्रस्ताव जेठ २९ गते दिउँसो १ बजे खुल्ने भएको छ। जसमा प्राविधिक मूल्यांकनमा छनोट भएका कम्पनीमध्ये कम कबोल गर्नेले टेन्डर पाउनेछन्। त्यसबाहेक, प्याकेज नम्बर १९ मा सिन्दन्या शाखाको नहर निर्माण गर्न ४ कम्पनी छनोट भएका छन्। जसमा ओली बिल्डर्स, पीईएस–एसआर जेभी, शिव–कृष्ण लिला जेभी र तपेश्वरी–सैनामैना जेभी प्राविधिक रुपमा छनोट भएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार