Listen LIVE

कृषिमा ड्रोनको प्रयोग गर्दै किसान वडायक

कञ्चनपुर : पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग बढ्दै गएको छ । परम्परागत रूपमा गोरु र राँगा प्रयोग गरी जोत्ने ठाउँमा ट्याक्टर, मिनिटिलर, पावर टिलरको प्रयोग गर्न थालिएको छ भने बाली काट्न र पिस्न प्रविधिको प्रयोग भइरहेको छ । त्यसै क्रममा यहाँका एक कृषकले ड्रोनको प्रयोग गरेर कृषि कार्य गर्दै आएका छन् । 

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक १० वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनासाथ काठमाडौँ पुगेका थिए । तथापि काठमाडौँको एक ‘पोलिहाउस’ मा टमाटर खेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए । काठमाडौँबाट टमाटरको बिउ लिएर कञ्चनपुर फर्किएका उनले त्यसयता विदेश जाने योजना बनाएका छैनन् ।

“काठमाडौँबाट फर्किएपछि सुरुमा आधा कट्ठा जमिनमा तीन वटा पोलिहाउस बनाएर टमाटर खेती गरेँ । त्यसबाट फाइदा भएन । त्यसपछि तालिम लिएर खेती गर्छु भनेर भारतको पन्तनगर गएर दुई दिनको तालिम लिएँ,” उनले भने । उनले भारतका विभिन्न सहरमा व्यावसायिक खेतीको तालिम लिएका छन् । 

तालिमपछि खेतीमा लागेका वडायकले खेतीबाटै आम्दानी गरेर रु. एक करोड रुपैयाँभन्दा बढीको कृषियन्त्र जोडेका छन् । उनी हाल वार्षिक २६ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । उनले आफ्नो र भाडामा गरी नौ बिघा जग्गामा उखु, तोरी, मुसुरो, धान खेती जस्ता कृषि उपज उत्पादन गर्दै आएका छन् । वडायकले खेती विस्तार गरेर वार्षिक एक करोड रुपैयाँसम्म कमाउने लक्ष्य राखेको बताए । उनले खेतीका लागि अत्याधुनिक कृषि उपकरण भित्र्याएर काम गरिरहेको जानकारी दिए । 

उनले हालसम्म खेतीबाट प्राप्त आम्दानीले रु. एक करोडभन्दा बढी मूल्यका कृषियन्त्र खरिद गरेका छन् । ड्रोनको प्रयोग खेतीमा सहज हुने भएकाले गत वर्ष मात्रै १० लाख रुपैयाँमा ड्रोन खरिद गरेको उनले सुनाए । उनले ड्रोनको प्रयोगबाट खेती गर्दा लागत कम हुनुका साथै उत्पादनसमेत वृद्धि भएको बताए ।

उनले ड्रोनले मानिसले भन्दा धेरै छिटो काम गर्छ यसबाट बिउबिजन र विषादीलगायत आवश्यक कीटनाशक औषधी छर्कने गरेका छन् । उनका अनुसार ड्रोनको प्रयोगले विषादी छर्किंदा मानिसले भन्दा राम्रो छर्किन्छ र किसानको स्वास्थ्यमा विषादीले पनि असर गर्दैन । 

ड्रोनको प्रयोगले बिउबिजन र विषादी छर्किंदा थोरै लागतमा धेरै काम गर्न सकिने उनको भनाइ छ । उनलाई खेतीमा उनका परिवारका सदस्यले समेत सहयोग गरेका छन् । उनले सिजनमा ३० देखि ४० जनालाई रोजगारी दिने गरेका छन् ।

सामान्य किसानले एक बिघा जग्गामा दुईदेखि तीन लाख रुपैयाँसम्मको उत्पादन गर्ने गरेकामा आफूले एक बिघामा करिब १४ लाख रुपैयाँसम्मको उत्पादन गर्ने लक्ष्य लिएको भन्दै प्राविधिक कुरामा मात्रै ध्यान दिन सके राम्रो उत्पादन हुने जनाए । उत्पादन गर्न सके बजारको समस्या भने नरहेको उनको अनुभव छ । 

वडायक गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट प्रदेशकै सर्वाेत्कृष्ट कृषक र भीमदत्त नगरपालिकाको उत्कृष्ट किसानबाट समेत सम्मानित भइसकेका छन् । “अहिले खेती गर्न थप सजिलो होस् भनेर मोबाइल एप सुरु गर्ने तयारीमा रहेको जनाउँदै त्यसमा कुन समयमा मल हाल्ने, कुन रोगबाट कसरी बच्नेलगायतका पूर्वजानकारी पाउन सकिने छ,” उनले भने ।

प्रतिक्रिया