Listen LIVE

मलको अभावले बाँकेमा रोपाइँ प्रभावित

यदुराज मिश्र/नेपालगञ्ज : असार २२ गतेसम्म पनि बाँकेका अधिकांश खेतहरू अझै सुक्खै छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ ।

खेत जोतिए पनि पानीको अभावले रोपाइँ थाल्न नसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा छन् । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भएपनि बाँकेमा भने अझै पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।

बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ का किसान गुरुदीन यादव भन्छन, “समयमै बर्खा नहुँदा रोपाइँ नै गर्न पाइएन । खेत जोतेर बीउ तयार पारेको धेरै भइसक्यो, तर न पानी पर्यो, न मल पाइयो । अब पानी परेपछि मात्रै खेतमा काम अघि बढ्छ ।”

उनका अनुसार, यसपटक असार सुरू भएदेखि नै बाँकेमा वर्षा कमजोर रहेकाले खेत सुकेका छन् । बोरिङ भएपनि लो भोल्टेजको समस्या र विद्युत अनियमितताका कारण आकाशेपानीकै भर पर्नुपरेको छ । “अहिले रोपाइँको सबैभन्दा संवेदनशील समय हो, तर बजारमा डिएपी मल पाइँदैन । मल नहुँदा बीउ छर्ने समयमा धानलाई बढ्न आवश्यक पोषण दिन सकिन्न । यसले उत्पादनमा ठूलो असर गर्छ ,” उनले दुःखेसो पोखे ।

रोपाइँका बेला डिएपी मलको अभाव

पानी मात्र होइन, रोपाइँको अर्को बाधक बनेको छ, रासायनिक मलको अभाव । बाँकेमा आवश्यक पर्ने डिएपी र युरिया मल आपूर्ति हुन सकेको छैन ।

“डुडुवाका किसानहरू सिँचाइका लागि मोटरको भरमा छन्, तर मल छैन”, डुडुवा ६ भंघोटनाका किसान घनश्याम बर्माले भने, “गत वर्ष यहाँस्थित सहकारीहरुले मल वितरण गरेपनि यसवर्ष भने एक बोरामा पाँच जनालाई वितरण गरिएको छ ।”

प्रतिक्रिया