Listen LIVE

जङ्गली धानको संरक्षणमा जुटे पुरमल

नेपालगञ्ज : कीट संरक्षण अभियन्ता एवम् सामुदायिक जीन बैङ्क गाभर भ्यालीका अध्यक्षसमेत रहेका बाँके कोहलपुर नगरपालिकाका स्थानीय पुरमल बस्नेत अहिले जिल्लाका विभिन्न स्थानमा पाइने जङ्गली धानको संरक्षणमा लागेका छन् । 

जिल्लाका विभिन्न स्थानमा पाइने जङ्गली धानलाई कसरी संरक्षण र सम्वर्धन गर्न सकिन्छ भनेर यसलाई जोगाउन आफू लागिरहेको उनी बताउँछन् । “जङ्गली धान पानी जम्ने खाल्डा, तलाउ तथा जलीय कुण्डमा पाइने गर्दछ, यो नेपालको तराईका विभिन्न जिल्लामा पाइन्छ, बाँकेमा पनि पानी जम्ने ठाउँमा प्रशस्तै छ, विशेषगरी कोहलपुर नगरपालिका क्षेत्रभित्र करिब एक बिघा क्षेत्रमा यो धान देखिएको छ” अभियन्ता बस्नेतले भने ।

“पहिला–पहिला छाडा गाईबस्तुले खाइदिने तथा घाँस काट्ने गर्दा त्यति धेरै नदेखिएको धान हाल भने छाडा गाईबस्तु नगरले व्यवस्थापन गर्दा र घाँससमेत नकाट्ने गर्दा प्रशस्तै देखिएको छ, मैले कसरी हुन्छ स्थानीय प्रविधि प्रयोग गरेर भए पनि यसको बिउ संरक्षण गर्नुपर्छ भनेर लागेको छु” उनले भने, “चराले अत्यन्त रुचाउने हुुँदा बिउ जोगाउन झुलले बाला बाँधेर राखेको छु, जे जति बँच्छ पहिचान गर्नका लागि सम्बन्धित ठाउँमा पठाउने योजना छ ।”

उनले जङ्गली धानको बिउ संरक्षण गर्न स्थानीय सरकार, नगर कृषि शाखा, कृषि ज्ञान केन्द्र, प्रदेश सरकार, सङ्घीय सांसद, खजुरास्थित नार्कको कार्यालय, राष्ट्रिय जीन बैङ्कलगायत सरोकारवाला सबैलाई जानकारी गराएको बताए । “मैले सबै सरोकारवालालाई यसका बारेमा जानकारी गराएको छु, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरे तथा सङ्घीय सांसद् सूर्यप्रसाद ढकाल लगायतलाई फिल्डमै बोलाएर देखाएको पनि छु, यसको संरक्षण गर्न पहल गर्नुपर्छ भनेको छु” उनले भने ।

“जङ्गली धान नेपालमा पाइनु सबै धानको मूल बिउ नेपालबाट उत्पादन भएको भन्ने जनाउँछ, यसको जैविक विविधतामा ठुलो भूमिका छ, मैले समुदायमा जनचेतना जगाउनुका साथै सुरक्षा, संरक्षण, प्रवर्धन गर्ने तथा तालतलैया भएको ठाउँमा यसको बेर्ना सारेर यसलाई जोगाउनुपर्छ भनेर लागेको छु, स्थानीय सरकार र राज्यले यसमा गम्भीर चासो देखाउन जरुरी छ” बस्नेतले भने ।

उनले नेपालमा हालसम्म पाँच वटा जङ्गली धानको पहिचान भएको तथा नामकरण समेत भइसकेको भन्दै बाँकेमा पाइएको धान सोही प्रजातिभित्र पर्छ या नयाँ प्रजातिको हो, बिउको परीक्षणपश्चात् मात्र जानकारी हुने बताए । उनले बाँकेमा पाइएको धान एउटा सोझो बाला र अर्को हाङ्गा फाटेको बाला गरेर दुईथरी देखिएको बताए ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय जीन बैङ्कका प्रमुख डा. बालकृष्ण जोशीले जङ्गली धान नेपालमा पाइनु भनेको धानको उत्पत्ति नेपालमा भएको हो भन्ने कुराको पुष्टि हुने बताए । उनले जति पनि रैथाने धान छ त्यसको पुर्खा जङ्गली धान भएको बताए । 

“यो धान नेपालका तराईका जलीय कुण्ड क्षेत्रमा पाइन्छ, पानी जम्ने तालतलैयामा यो हुने गर्दछ, हालसम्म पाँच वटा प्रजातिका पहिचान र नामकरणसमेत भइसकेको छ, पहिचान भएका धानको बिउ, हाङ्गाहरू जीन बैङ्कमा सुरक्षित छन्, २५ वर्षअघि सन् २००० बाटै हामीले जङ्गली धानका बारेमा अनुसन्धान सुरु गरेका थियौँ”, डा. जोशीले भने ।

यसको संरक्षणका लागि नेपालका विभिन्न सरोकारवालासँग विभिन्न समयमा अन्तक्र्रिया गरिएको तथा केही स्थानहरूमा जलीयकुण्ड जीन बैङ्कको समेत स्थापना गरेर यसको संरक्षणमा लागेको उनको भनाइ छ । उनले विश्वमा हालसम्म जङ्गली धानका २०–२२ वटा प्रजाति पत्ता लागिसके पनि नेपालमा भने पाँच वटा मात्र प्रजाति पत्ता लागेको जानकारी दिए ।

“पहिला–पहिला पूर्व–पश्चिम राजमार्गका दायाँबायाँ खाल्डाहरूमा प्रशस्तै यो धान पाइन्थ्यो, पछि सडक विस्तार हुने बेलामा सबै नष्ट भयो, हामीले निकुञ्ज क्षेत्रभित्र रहेका तालतलैया, जलीय कुण्डमा रहेका यो धानको प्रजातिलाई संरक्षण गर्नुपर्छ भनेर पनि लागेका छौँ” उनले भने, “यो धान र हाल खेती भइरहेका अन्य धानबिच क्रसिङ गरेर धानको उत्पादनमा वृद्धि गर्ने हो, जङ्गली धान र नजिकै खेत भएका अन्य धानबिच आफसेआफ क्रसिङ हुन्छ र उत्पादनमा पनि वृद्धि हुन्छ ।” जलीय क्षेत्रको संरक्षण गरेर यो धानलाई संरक्षण, प्रवर्धन गर्नका लागि समुदायस्तरबाटै अग्रसर हुनु जरुरी रहेको डा. जोशीले बताए ।

प्रतिक्रिया