डोटी : डोटीको जोरायल गाउँपालिकाले बास्मती धान उत्पादनका लागि बादी समुदायका घर परिवारलाई जमिन भाडामा दिएको छ । परम्परादेखि नै नाचगान गर्ने पेशामा आबद्ध बादी समुदायको पेशा सङ्कटमा पर्न थालेपछि धान खेतीका लागि जमिन भाडामा लिएर बादी समुदायलाई उपलब्ध गराएको छ ।
परम्परादेखि नै विवाह, ब्रतबन्ध, चाडपव र मेलामा नाच गरेर जिवन निर्वाह गर्दै आएका बादी समुदायका व्यक्तिहरुलाई यस पेशाबाट आम्दानी कम हुन थालेसँगै घर परिवार पाल्न समस्या हुँदै आएको थियो । जोरायल गाउँपालिकाले स्थानीय व्यक्तिबाट पाँच रोपनी जमिन भाडामा लिएर बादी समुदायका १० घरपरिवारलाई हंसराज बास्मती धान उत्पादनका लागि उपलब्ध गराएको हो ।
जोरायल गाउँपालिका उपाध्यक्ष जमुना रोकाया बोहराका अनुसार विपन्न वर्गका व्यक्तिहरुका लागि आय आर्जनमा सहज होस् भन्ने उद्देश्यले सामुदायिक खेती प्रणालीअन्तर्गत आर्थिक २०७५–०७६ देखि नै वार्षिक रुपमा प्रति रोपनी १५ हजारका दरले ७५ हजार रुपैयाँ जमिनको भाडा बाफत दिइदै आएको छ ।
उपाध्यक्ष बोहराले भनिन, “नियमित रुपमा खेती गर्ने जमिन पनि नभएका बादी समुदायका व्यक्तिहरुलाई बिहान बेलुका के खाने भन्ने समस्या देखिएको थियो । हामीले जमिनको भाडा बाफतको रकम गाउँपालिकाबाट तिर्नुपर्ने निर्णय गरेका छौं । यसबाट थोरै भए पनि बादी समुदायका व्यक्तिहरुलाई राहत भएको छ । जमिन भाडामा दिने बारेको सम्झौता प्रत्येक तीन तीन वर्षमा नवीकरण हुने व्यवस्था गरिएको छ ।”
डोटीको जोरायल क्षेत्र हंसराज बास्मती धान उत्पादन हुने क्षेत्रका रुपमा चिनिन्छ । यस क्षेत्रमा उत्पादन हुने बास्मती पछिल्लो समय जिल्ला बाहिर पनि निर्यात हुन थालेको छ । जोरायल गाउँपालिका नायव सुब्बा चन्द्रबहादुर सार्कीले भने, “जोरायल गाउँपालिका वडा नं. ३ र ४ मा बसोबास गर्दै आउनुभएका २० घर परिवारमध्ये बादी समुदायका १० घरपरिवार यसबाट प्रत्यक्ष लाभान्वित हुनु भएको छ । आफ्नो जमिन नभएकाहरुले पालिकाले उपलब्ध गराएको जमिनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ ।”
गाउँपालिकाले उपलब्ध गराएको जमिनबाट भएको उत्पादन बिक्रीबाट आम्दानी हुँदै आएको कटैनी देवी बादीले बताइन् । उनले भनिन, “हामी त बाजे बराजुका पालादेखि नै नाचगान गरेर त्यसै बाफत प्राप्त भएको अन्न ल्याएर खान्थ्यौं । घर परिवारको सङ्ख्या पनि बढ्दै जान थाले पछि आम्दानी घट्न थाल्यो । हाल पालिकाले जमिन उपलब्ध गराएर खेती गर्न दिए पछि थोरै भए पनि राहत भएको छ । ”
पालिकाले उपलब्ध गराएको जमिनमा वर्षाको समयमा हंसराज बास्मती धानको उत्पादन हुँदै आएको छ, भने हिउँदको समयमा गहुँ र बेमौसमी तरकारीको उत्पादन गरेर आम्दानी गर्दै हुने गरेको छ । सो क्षेत्रमा प्रति रोपनी तीन क्विन्टलसम्म धान उत्पादन हुँदै आएको छ । जोरायल क्षेत्रमा उत्पादन हुँदै आएको बास्मतीलाई स्थानीय सहकारी मार्फत जिल्ला बाहिर निर्यातका लागि बजारीकरण हुँदै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार