तम्घास : धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारा सुन्तला खेतीको लागि प्रख्यात मानिन्छ । यहाँका ६० प्रतिशत नागरिक सुन्तला खेतीमा आवद्ध छन् । पिपलधारामा कुल दुई हजार रोपनी जग्गालाई सुन्तला पकेट क्षेत्र निर्धारण गरिएको छ ।
उक्त जग्गालाई पाँच हजार रोपनीसम्म विस्तार गर्ने योजना वडाको छ । सुन्तला लिनको लागि व्यापारीहरु बगैँचामै आउने गर्दछन् । पिपलधाराको सुन्तला स्थानीय बजार हुँदै तम्घास, अर्घाखाँची, पाल्पा, बुटबललगायतका स्थानमा पुग्ने गर्दछन् । यो वर्ष पनि सुन्तला निर्यात भइरहेको वडाध्यक्ष बाबुराम खड्काले बताए । पिपलधाराको पहिचान नै सुन्तला भएको बताउँदै बजारको कुनै समस्या नभएको उनले बताए ।
गत वर्षमात्रै पिपलधाराबाट चार करोडको सुन्तला निर्यात भएकोमा यो वर्ष चार करोड ५० लाखभन्दा बढीको सुन्तला निर्यात हुने लक्ष्य रहेको वडाध्यक्ष बाबुराम खड्काले बताए । उनका अनुसार स्थानीय बजारका साथै नारायणघाट, कपिलबस्तुको चन्द्रौटाबाट ब्यापारीहरु आएर सुन्तला खरिद गरेका छन् । सुन्तला खेतीबाटै पिपलधारालाई आत्म निर्भर बनाउने गरी योजना बनाएको उनको भनाइ छ ।
स्थानीय विष्णुप्रसाद खनालले पनि लामो समयदेखि सुन्तला खेती गर्दै आएका छन् । उनको अहिले २९ रोपनी बारीमा सुन्तला बगैँचा छ । कुल एक हजार चार सय सुन्तलाका बिरुवामध्ये आठ सयले उत्पादन दिइरहेका छन् । गत वर्ष उनले २६ टन सुन्तलाबाट १३ लाख रुपैयाँ आम्दानी गरेका थिए । यो वर्ष सुन्तलाको उत्पादन राम्रो भएकाले गत वर्षभन्दा बढी आम्दानी हुने उनले बताए । शिक्षण पेशासमेत गर्दै आएका उनले सुन्तलाको बिरुवाका लागि आफ्नै बारीमा नर्सरीको स्थापना गरेका छन् । दिउँसोमा विद्यालय भए पनि बिदा र बिहान–बेलुकाको समय सुन्तला खेतीमा दिने गरेको उनले बताए ।
पिपलधाराका वडाध्यक्ष बाबुराम खड्का पनि सुन्तला कृषक हुन् । उनले यो वर्ष मात्रै एक हजार सुन्तलाका बिरुवा रोपण गरेका छन् । उनको अहिले ३५० बोटले उत्पादन दिइरहेका छन् । ४० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेका उनले सुन्तला रेखदेखका लागि एक जनालाई रोजगारीसमेत दिएका छन् । राजनीति र कृषिसँगै जनसेवा गर्ने चाहाना रहेको उनले बताए ।
स्थानीय केशव खनालको बगैँचामा पनि अहिले एक हजार सुन्तलाका बोट छन् । विगतदेखि नै सुन्तला खेती गर्दै आएका उनले गत वर्ष मात्रै ९० क्वीन्टल सुन्तला बिक्रीबाट छ लाख आम्दानी गरेका थिए । अहिले पनि उनको बारीमा दुई सय बिरुवाले फल दिइरहेका छन् । बाँकी आठ सय बिरुवा कलमे र नयाँ लगाएकाले केही वर्षमा फल दिने उनले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार