Listen LIVE

बर्दियामा थाला परेकी किशोरीलाई घरमै नागरिकता

बर्दिया : मेरुदण्ड भाँचिएर थाला परेकी किशोरीलाई जिल्ला प्रशासनले घरमै पुगेर नागरिकता प्रदान गरेको छ । मधुवन नगरपालिका–१ बड्की टडुवा इन्द्रपुरकी १७ वर्षीया सुबिक्षा थारुलाई घरमै पुगेर प्रशासनले नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारी र प्रशासकीय अधिकृत लोकप्रसाद ढकालले हिँडडुल गर्न नसक्ने अशक्त युवतीको घरमै पुगेर नागरिकता प्रदान गरेका हुन् ।

नागरिकता बनाउने उमेर भएको तर, पुलबाट लडेर मेरुदण्ड भाँचिएर जिल्ला प्रशासन पुगेर सेवा लिने अवस्था नदेखिएपछि घरमै पुगेर नागरिकता उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए ।

'मधुवन नगरपालिका–१ का वडा अध्यक्ष मिन थापाले घाईते किशोरीको अवस्था बारेमा जानकारी गराउनुभयो,' प्रजिअ हमालले भने, 'प्रशासनसम्म पुग्ने स्थिति नहुँदा घरदैलोमा पुगेर सेवा प्रदान गरेका छौं ।' प्रशासनले नागरिकमैत्री सेवालाई प्रभावकारी बनाउन यस्ता कार्यलाई निरन्तरता दिनेछ ।

थाला परेकी किशोरीलाई प्रजिअ हमालले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरे । उपचारको लागि कतै पहल गर्न परे प्रशासनले गर्ने प्रजिअ हमालले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया