बाजुरा : बाजुराका अधिकांश किसानहरूको पछिल्लो समयमा कोदो खेतीप्रति आकर्षण बढ्दै गएको छ । स्थानीय सरकारले स्थानीय अर्गानिक कोदो खेती उत्पादनलाई पहिलो प्राथमिकता दिएपछि यहाँका किसानको कोदो खेतीप्रति आकर्षण बढ्दै गएको हो । अहिले यहाँका अधिकांश किसान कोदो खेती बढी लगाउँछन्।
गाउँदेखि बजारसम्म कोदोको माग बढ्दै गएपछि अहिले यहाँका स्थानीयले प्रायः बढी भागमा कोदो लगाउने गर्छन् । बुढीगङ्गा नगरपालिका–१०, बदेडाकी स्थानीय भावना नेपालीले, गाउँदेखि बजारसम्म अहिले कोदोको माग बढदै गएपछि धान, गहुँ भन्दाबढी लगाउने गरेको बताइन् ।
उनले भनिन, 'गत वैशाखؘ–जेठमा लगाएको कोदो भदौमा पाक्छ । त्यसालाई (अगन खाने कोदो) भन्छौ । त्यस्तै, अहिले असार–साउनमा लगाएको कोदो कात्तिक–मङ्सिरमा पाक्ने गर्छ । हामी त्यसलाई पछन खाने कोदो भन्न्ने गरेका र्छौं ।'
पहिला कोदो खासै बिक्री नहुने हुनाले खेती पनि थोरै लगाउने गथ्र्यो । अहिले कोदो किन्नका लागि व्यापारीहरू गाउँमै आउने गरेकाले यसको खेती पनि बढी गर्ने गरेको नेपालीले बताइन् ।
कोदोमा प्रोटिन फ्याट कार्बोहाइड्रेट क्याल्सिएम भिटामिन, थाइमिन मिलिग्राम, राइबोफ्ल्याबिन नाइसिन–मिलिकोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिन्छ ।
यो सजिलै पच्छ । यसमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका पोषक तत्व भएको चिकित्सकको भनाइ छ ।
केही व्यक्ति ग्लुटेनप्रति संवेदनशील हुन्छन् । यस्ता व्यक्तिका लागि कोदो राम्रो विकल्प मानिन्छ । कोदो ऊर्जाको राम्रो स्रोत हो । मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुने चिकित्सकको भनाइ छ ।
चिकित्सकका अनुसार यसमा आइरन समेत निकै हुन्छ । पेटको स्वास्थ्यका लागि कोदोको सेवन धेरै लाभकारी मानिन्छ । कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रूपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम मिल्छ । कोदो क्यान्सरबाट बचाउन पनि सहयोगी हुन्छ । यसको नियमित सेवनले मधुमेहको खतरा कम हुन्छ ।
बाजुरामा प्रायः यहाँका जमिन पाखो र भिरालो ठाउँमा रहेको छ । त्यसै जमिनमा कोदो खेती लगाउने गरिन्छ । यहाँका कोदो राम्रो उत्पादन हुने गर्छ । यहाँका कोदो प्रायः अर्गानिक उत्पादन हुन्छ ।
बाजुरावासीका लागि कोदो छाक टार्ने र भोक मेटाउने आहार मात्र नभइ पोषणयुक्त खाद्यका रूपमा लिने गरिन्छ । पुराना पुस्ताले कोदो खेती धेरै मात्रामा गर्ने गरेका भए पनि पछिल्लो पुस्ताले कोदोको व्यावसायिक खेती गर्न थालेका छन् ।
कोदोको रोटी र ढिडो सहरी क्षेत्रमा लोकप्रिय बन्न थालेपछि कोदोको व्यावसायिक खेती हुन थालेको हो । गाउँमा सडक पुगेपछि दलेको दाल र फलेको चामल घरमै पुग्ने गरेकाले कोदोका परिकार बनाएर खानेको सङख्या पनि घट्न थालेको छ ।
हिमाली, जगनाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका, गौमुल बुढीगङ्गा, खप्तडछेडेदह र त्रिवेणी लगायतका विभिन्न गाउँ बस्तीमा कोदो उत्पादन हुने गरेको छ । पछिल्लो समय यहाँको अर्गानिक कोदो देशका विभिन्न सहरमा पुग्न थालेको स्थानीय बताउँछन् ।
कोदो खेती स्थानीयको जीविकोपार्जन गर्न सहज देखिएकाले स्थानीय तहले कोदो खेतीमा उत्प्रेरित गर्दै आएका छन् । स्थानीय सरकारले अहिले यहाँका विद्यालय तथा सरकारी कार्यालयको गोष्ठी सेमिनार बैठकमा कोदोको नास्ता अनिवार्य गराएका छन् ।
जिल्लामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य छ । त्यसमध्ये पाँच हजार २३५ हेक्टर जमिन वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ ।
त्यसमा कोदो खाद्यान्न उत्पादनमा योगदान २२.६२ प्रतिशत मात्र रहेको कृषि ज्ञान केन्द्रका प्रमुख जसिराम साहनीले बताए ।
कोदो अन्य बालीभन्दा उत्पादनमा कम महिना लाग्छ । पाखो र सुख्खा जमिनमा पनि कोदो उत्पादन हुन्छ । छरेको कोदो एक पटक गोडमेल गरिन्छ भने सारेको कोदोलाई खासै गोडमेलको आवश्यकता पर्दैन। कम मिहिनेतमा बढी उत्पादन हुने भएकाले पनि पछिल्लो समय यहाँका किसानको कोदो खेतीप्रति चासो भएको साहानीले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार