हुम्ला : वर्षायाम सुरु भएसँगै हुम्लाका विभिन्न उच्च पाटनमा भेडाबाख्राका बथान सारिएका छन्। तल्लो क्षेत्रमा गर्मी बढ्नुका साथै उच्च पाटनमा बुकी (घाँस) उम्रिसकेकाले पालनका लागि भेडीगोठ लेकतर्फ लगिएको हो।
ताँजाकोट र अदानचुली गाउँपालिकाको सीमास्थित मदनखोलामा भेडा चराउन पुगेका ताँजाकोट गाउँपालिका–५ का दानबहादुर बुढाले अब पाँच महिनासम्म त्यहीँ बस्ने बताए।
'उच्च पाटनमा मौसम शीतल हुन्छ, घाँस पनि प्रशस्त उम्रिसकेको छ। त्यसैले हरेक वर्ष यही समयमा भेडीगोठ लेकतर्फ सार्ने गरेका छौँ,' उनले भने।
उनका अनुसार एक–दुई घरले मात्र होइन, भेडाबाख्रा पाल्ने अधिकांश किसानले आफ्ना बथान उच्च पाटनमा लैजाने गरेका छन्। मदन खोला क्षेत्रमा मात्रै करिब तीन हजारभन्दा बढी भेडाबाख्रा चरनका लागि लगिएको छ।
चङ्खेली गाउँपालिका–२ का रामबहादुर बुढाले पनि चङ्खेली हिमालको फेदीमा भेडा चराउन लगिएको बताए। उनका अनुसार त्यस क्षेत्रमा गाउँका १० भन्दा बढी गोठ (पाल) स्थापना गरी भेडाबाख्रा चराइँ भइरहेको छ।
यस्तै, खार्पुनाथ गाउँपालिका–२ र ३ का किसानले आफ्ना भेडाबाख्रा रानीखर्कमा पु¥याएका छन्। स्थानीयका अनुसार त्यहाँ पनि तीन हजारभन्दा बढी भेडाबाख्रा चरिरहेका छन्।
सिमकोट गाउँपालिका–७, डाँडाफयाका स्थानीयले भने आफ्ना भेडाबाख्रा छुंसा र नारा क्षेत्रमा लगेका छन्। यी क्षेत्र समुद्री सतहबाट करिब चार हजार पाँच सय मिटर उचाइमा रहेका छन्। त्यहाँ प्रशस्त बुकी उम्रने भएकाले भेडाबाख्राको पालनका लागि उपयुक्त मानिन्छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार