नेपालगञ्ज : नेपालगञ्जस्थित कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष ०८०–०८१ मा एक हजार ९४ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण गरिएको छ।
कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगञ्जका नायव प्राविधिक सहायक गौरव चौधरीले प्रयोगशालामा गत आर्थिक वर्षमा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुका एक हजार ९४ वटा नमुना परीक्षण गरिएको बताए।
“गत आर्थिक वर्षमा हाम्रो प्रयोगशालामा एक हजार ९४ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण भयो, जसमध्ये सात वटा नमुनामा कैफियत पाइयो”, चौधरीले भने, “तीन वटा नमुना यल्लो लेबल र चार वटा नमुनामा रेड लेबल भएको पाइयो।”
त्यसैगरी आर्थिक वर्ष ०७९–०८० मा एक हजार ८५ वटा नमुना परीक्षण गरिएको उनले बताए। “आर्थिक वर्ष ०७९–०८० मा एक हजार ८५ वटा नमुना परीक्षण भएको थियो, जसमध्ये छ वटा नमुनामा यल्लो लेबल र १० वटा नमुनामा रेड लेबल पाइएको थियो।” चौधरीले भने, “आव ०७९–०८० मा भन्दा गत आवमा कैफियत देखिने क्रम घटेको छ।”
चालु आवमा ३५३ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना जाँच भए पनि हालसम्म एउटा नमुनामा पनि कैफियत नपाइएको उनले बताए। परीक्षणमा रेड लेबल पाइएको वस्तुको उपभोग गर्न नमिल्ने र यल्लो लेबल पाइएको वस्तुलाई पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने उनले बताए।
तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षणमा ३५ प्रतिशत भन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई ग्रीन लेबल भनिने र उपभोग गर्न मिल्ने, ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा त्यसलाई यल्लो लेबल भनिने र त्यसलाई चार पाँच दिनसम्म क्वारेनटिनमा राखेर पुनः परीक्षण गर्दा ३५ प्रतिशत भन्दा कम निषेध प्रतिशत देखिएमा त्यो पनि उपभोग गर्न मिल्ने र ४५ प्रतिशत भन्दा माथि निषेध प्रतिशत देखिएमा त्यसलाई उपभोग गर्न नमिल्ने चौधरीले बताए।
प्रयोगशालामा नेपालका विभिन्न जिल्लाबाट नेपालगञ्ज आउने तरकारी तथा फलफूलजन्य वस्तु र भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच हुने गरेको छ। एकदेखि डेढ घण्टाभित्रमा प्रयोगशालामा परीक्षण गरिएका नमुनाको नतिजा आउने उनको भनाइ छ।
चौधरीका अनुसार तरकारी तथा फलफूलजन्य वस्तुमा अर्गानोफस्फेट र कार्बामेट गरी दुई वटा विषादी समूहको परीक्षण हुने गर्दछ। कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगञ्जबाट २०७९ मङ्सिर महिनादेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादीको नमुना परीक्षण सुरु गरिएको हो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार