Listen LIVE

तेस्रो ज्योतिपुञ्ज कपको नयाँ मिति सार्वजनिक

पाल्पा : जेनजी आन्दोलनका कारण रामपुरमा स्थगित भएको तेस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता आगामी असोज २६ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक ज्योतिपुञ्ज युवा क्लवले शुक्रबार सूचना जारी गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।

पूर्वनिर्धारित तालिकाअनुसार असोज ३ देखि ११ गतेसम्म सञ्चालनको लागि तयारी भैरहेको अवस्थामा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र परिस्थितिको कारण तत्कालको लागि स्थगित भएको थियो । ज्योतिपुञ्ज कप कालीगण्डकी वेशी क्षेत्रकै सबैभन्दा ठूलो प्रतियोगिताको रुपमा परिचित छ । आन्दोलनपश्चात् जनजीवन सामान्य बन्दै गैरहेको र दसैँपश्चात् वातावरण थप सहज हुने विश्वासका साथ नयाँ मिति सार्वजनिक गरिएको क्लबका अध्यक्ष सुन्दर रानाले जानकारी दिए ।

रामपुर नगरपालिका–७ किसानबारी खेल मैदानमा हुने तेस्रो संस्करणको प्रतियोगिता खेलमैदान निर्माण सहयोगार्थ सञ्चालन गर्न लागिएको उनले बताए । ‘फुटबल खेल मैदान निर्माणको अभियान ः रामपुरको गौरवमा तपाईंको योगदान’ भन्ने नाराको साथ प्रतियोगिताको तयारी भईरहेको छ । प्रतियोगितामा राष्ट्रियस्तरको १० क्लबहरुको सहभागिता रहने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।

प्रतियोगितामा विजेताले ३ लाख ५० हजार र उपविजेताले २ लाख नगदसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै सेमिफाइनलमा पुग्ने तर फाइनलमा पुग्न नसक्ने टिमलाई २५।२५ हजार नगद प्रदान गरिनेछ । 

प्रतियोगितामा उत्कृष्ट खेलाडीले १७ हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । अधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उदाउँदो खेलाडी, उत्कृष्ट कोचलाई नगद ८ हजार, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको संरक्षकमा रामपुर नगरपालिका छ ।

प्रतिक्रिया