Listen LIVE

बाहुनी गाउँमा अर्गानिक प्याज खेती विस्तार

बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ स्थित बाहुनी गाउँमा यो वर्ष दुई सय क्वीन्टलभन्दा बढी प्याज उत्पादन भएको छ । यहाँका ४० जना कृषकले झण्डै १० हेक्टर क्षेत्रफलमा व्यवसायिक प्याज खेती गर्दै आएका छन् ।

स्थानीय कृषक दिप विकले २०५६ सालदेखि प्याज खेती गर्दै आएका छन् । सुरुमा थोरै मात्रामा खेती गरे पनि अहिले उनले ३० क्वीन्टल प्याज उत्पादन गरेका छन् ।

“पहिले खच्चडमा बोक्थ्यौं, अहिले गाउँमै ट्याक्टर आउँछ,’’ उनले भने । विकका अनुसार पहिले–पहिले प्याजको बजार र ढुवानी समस्या हुन्थ्यो भने अहिले अनुदान अभावले बिक्रीमा समस्या आएको छ ।

यसैगरी, बाहुनी गाउँका दल विकले यस वर्ष १० क्वीन्टल प्याज उत्पादन गरेका छन् । उनले प्याज प्रतिकेजी ३५ रुपैयाँमा बिक्री गरेका छन् । “ढुवानीमा अनुदान भए राम्रो मूल्य पाइन्छ, नत्र सस्तोमा बेर्नुपर्छ,’’ उनले भने ।

गाउँकै कृषक रमेश विकका अनुसार यहाँ प्याज तीन चरणमा–जेठ–असार, साउन, र मङ्सिर–कात्तिकमा बिक्री हुन्छ । “मङ्सिर–कात्तिकमा बजार पाइयो भने राम्रो आम्दानी हुन्छ,’’ उनले भने । पहिले भण्डारण अभावले प्याज कुहिने अवस्था थियो, तर गत वर्ष सरकारको सहयोगमा बनाइएको भण्डारण गृहले समस्या समाधानमा मद्दत गरेको उनले बताए ।

गाउँपालिकाले बाहुनीलाई प्याजको पकेट क्षेत्र घोषणा गरेपछि उत्पादनमा उत्साह थपिएको हो । गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले यस वर्ष दुई सय क्वीन्टलभन्दा बढी प्याज उत्पादन भएको बताए । उनले ढुवानी अनुदान र रीरास परियोजनाबाट बोराको सहयोग भएको जानकारी दिए ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम साहनीका अनुसार कृषकले निवेदन दिएमा ढुवानी अनुदान दिन सकिने छ । “सुचिकृत नभएका कारण केही समस्याहरू आएका छन्,’’ उनले भने ।

स्थानीय सरकारले व्यवसायिक सीप र उत्पादनसँगै बजारीकरण र भण्डारणमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । भारत तथा धनगढी हुँदै आउने विषादीयुक्त प्याजको तुलनामा स्थानीय अर्गानिक प्याज गुणस्तरीय भए पनि बजार पाउन नसकेको कृषकहरूको गुनासो छ ।

प्रतिक्रिया