सल्यान : नेपालकै प्रमुख बेमौसमी तरकारी उत्पादन क्षेत्रका रूपमा परिचित सल्यानको कपुरकोटमा यस वर्षको तरकारी सिजन औपचारिकरूपमा शुरु भएको छ ।
गत शुक्रबारदेखि तरकारी हाट बजार सञ्चालनमा ल्याएको कपुरकोट कृषि उपज बजार केन्द्रले पहिलो दिनमै किसानले नौ लाखभन्दा बढीको कारोबार गरेको जनाएको छ ।
बजार केन्द्रका अनुसार पहिलो दिन मात्रै २१ हजार ३०५ किलो विभिन्न प्रकारका तरकारी बिक्री हुँदा नौ लाख २९ हजार ७१२ रुपियाँ बराबरको कारोबार भएको छ ।
किसानले उत्पादन गरेका तरकारी बिक्रीका लागि तयार भएपछि बजार सञ्चालनमा ल्याइएको कृषि उपज बजार सञ्चालन समितिका अध्यक्ष तिलक शर्माले बताए ।
उनका अनुसार अब आगामी कार्तिक मङ्सिरसम्म कपुरकोट क्षेत्रबाट ठूलो परिमाणमा तरकारी देशका विभिन्न सहरमा पठाइनेछ । कपुरकोटमा हरेक मङ्गलबार र शुक्रबार नियमित तरकारी हाटबजार लाग्ने गर्दछ । गाउँपालिकाभित्रका सितलबजार, बगालेलगायत सहायक बजारहरूमा पनि विभिन्न बारमा तरकारी सङ्कलन तथा कारोबार हुँदै आएको छ ।
गत वर्ष मात्रै कपुरकोटबाट ३० करोड ५१ लाख २२ हजार ७२५ रुपियाँ बराबरको ताजा तरकारी तथा फलफूल बाहिरिएको थियो ।
गत वर्ष जेठ अन्तिम सातादेखि मङ्सिरसम्मको अवधिमा ७८ लाख ५९ हजार ९३६ किलो तरकारी तथा फलफूल बिक्री भएको बजार प्रतिनिधि चन्द्रमणि खड्काले बताए ।
तराई तथा सहरी क्षेत्रमा अत्यधिक गर्मी र वर्षाका कारण तरकारी उत्पादन घट्ने समयमै कपुरकोटसहित सल्यानका पहाडी भूभागमा उत्पादन हुने बेमौसमी तरकारीको माग विभिन्न शहर बजारमा हुनेगरेको छ ।
दाङ, बुटवल, भैरहवा, नेपालगञ्ज, पोखरा, कैलाली, धनगढीलगायतका क्षेत्रका व्यापारी कपुरकोट पुगेर तरकारी खरिद गर्ने गरेका छन् । कृषि उपज बजार केन्द्रका अनुसार जेठदेखि मङ्सिरसम्मका अवधि कपुरकोटका किसानका लागि वार्षिक आम्दानीको सबैभन्दा महत्वपूर्ण समय मानिन्छ । यही अवधिमा बिक्री हुने तरकारीबाट अधिकांश किसानले आफ्नो वर्षभरको मुख्य आम्दानी गर्ने गरेका छन् ।
२०४७ सालदेखि व्यावसायिक तरकारी खेतीको अभ्यास सुरु भएको कपुरकोट क्षेत्रमा अहिले करिब तीन हजार घरधुरी किसान प्रत्यक्ष रूपमा तरकारी उत्पादनमा संलग्न रहेको बताइन्छ ।
पछिल्ला वर्षहरूमा युवा र महिलाको आकर्षण समेत बढ्दै गएको छ ।कपुरकोटसँगै जिल्लाका त्रिवेणी, छत्रेश्वरी, शारदा, सिद्धकुमाख लगायतका स्थानीय तहमा पनि व्यावसायिक तरकारी खेती विस्तार भइरहेको छ ।
स्थानीय सरकार तथा अन्य सरकारी निकायहरूले किसानलाई प्राविधिक सहयोग, पूर्वाधार निर्माण तथा अनुदानमार्फत खेती विस्तारमा सहयोग गर्दै आएका छन् ।सल्यानका किसानले गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानी, आलु, काँक्रो, स्कुस, मूला, गाजर, भान्टा, हरियो केराउ, सागलगायतका बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् ।
फलफूलतर्फ सुन्तला, आरु, नास्पाती, अनार, आँप, केरा तथा मसलाजन्य बालीमा अदुवा, प्याज, लसुन, हरियो धनियाँ, टिमुर र खुर्सानीको उत्पादन हुने गरेको छ । यतिबेला कपुरकोट क्षेत्र तथा अन्य पालिकाका पाखाबारी, खेत, काल्ना तथा खोल्साका आसपास हरियाली तरकारी बालीले ढाकिएका छन् ।
यस वर्ष भने तरकारीको ब्याड राख्ने तथा विरुवा रोप्ने समयमा परेको अविरल वर्षा र असिनापानीले किसानलाई ठूलो क्षति पु¥याएको थियो ।कतिपय किसानले पुनः ब्याड राख्नुपर्ने अवस्था समेत आएको थियो भने कतिपयले असिनाको चोटले क्षति पुगेका तरकारीका बोटनै उखेलेर फालेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार