नेपालगञ्ज : मानिसलाई जस्तै पशुलाई पनि नियमित जाँच र उचित उपचार आवश्यक हुन्छ। यसतर्फ बेवास्ता गर्दा नेपाली किसानले वार्षिक अर्बौं रुपैयाँ बराबरको क्षति बेहोर्दै आएका छन्। हाल पशुपालक किसानलाई सबैभन्दा ठूलो समस्या बनेको छ—पशुमा देखिने बाँझोपन। देशभर करिब २० प्रतिशत गाईभैंसीमा यो समस्या देखिने गरेको छ।
यस समस्याको समाधानका लागि लुम्बिनी प्रदेश सरकारले १२ वटै जिल्लामा ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरेको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको यस कार्यक्रममार्फत पशु चिकित्सक टोली किसानको गोठमै पुगेर जाँच, उपचार र आवश्यक परामर्श दिइरहेका छन्।
प्रदेशका कृषि मन्त्री दिनेश पन्थीका अनुसार कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाइएको छ। उपचारपछि ९० दिनमा पुनः फलोअप हुने व्यवस्था गरिएको छ। जानकी गाउँपालिका–५ का वडाध्यक्ष टिकानाथ यादवले बाँझोपन निवारणपछि किसान उत्साहित भएको बताए।
पशु चिकित्सक जगतराम यादवका अनुसार पोषणको कमी, रोग, हर्मोन असन्तुलन र ‘लम्पी स्किन’ जस्ता महामारीका कारण प्रजनन क्षमतामा ह्रास हुने गरेको छ। वंशाणुगतका कारण वा पाठेघरमा ट्युमर बन्ने समस्याले पनि बाँझोपन बढाउने गरेको छ।
प्रदेश सरकारका अनुसार यो कार्यक्रम पशुपालन क्षेत्रमा किसानमुखी पहल सावित भएको छ। यसले उत्पादनमा वृद्धि, दूधमा आत्मनिर्भरता र किसानको मनोबल उच्च बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार